काठमाडौं । सरकारले नागढुङ्गा–नौबिसे सुरुङ मार्गको अध्ययनपछि नेपालका थप पाँच स्थानमा सुरुङ मार्ग निर्माणका लागि अध्ययन सुरु गरेको छ ।
बढ्दो ट्राफिक जामको समस्या समाधान गर्दै यात्रालाई सहज बनाउन साथै नेपाली सडकहरुलाई पनि अन्तर्राष्ट्रिय स्तरअनुसारको विकास गर्न सरकारले सुरुङ मार्ग निर्माणको अवधारणा ल्याएको र यसको अध्ययनको काम सुरु गरेको हो ।
नागढुङ्ग–नौबिसे खण्डपछि पाँच स्थानमा बन्ने सुरुङ मार्गमा हाल अध्ययनको काम भइरहेको सडक विभागका सम्भार महाशाखा प्रमुख शिव नेपालले बताए ।
नेपालका अनुसार सुरुङ मार्ग निर्माण हुने विभिन्न पाँच स्थानको माटो, पानी, चट्टान र सुरुङ मार्ग बनाउनका लागि आवश्यक पहुँच मार्ग निर्माणबारे अध्ययन भइरहेको छ ।
नवलपरासी, काभ्रे, दोलखा, पोखरा र बुटवलमा बन्ने सुरुङ मार्गको अध्ययन गर्न नेपाली भूगर्भविद् र वातावरण विज्ञको टोली खटिरहेको नेपालले जानकारी दिए ।
कुलेखानी–हेटौंडा सडक खण्डमा कुलेखानी–भीमफेदी ४ किमी, काभ्रेको बनेपा–सिन्धुली सडक खण्डमा खुर्कोट–सिन्धुलीबजार ९ किमी, पोखरा–बाग्लुङ सडक खण्डमा हेम्जा–नयाँ पुल ५ किमी, दोलखाको सिंगटी–दालामाबगर सडक खण्डमा लामा बगर–लाप्चा गाउँ १ किमी र नवलपरासीको दाउन्नेमा ५ किमी सुरुङ मार्ग निर्माण गर्न सम्भाव्यता अध्यननको काम भइरहेको छ ।
उक्त सुरुङ मार्गको सम्भाव्यता अध्ययनको काम यही आर्थिक वर्षमा सकिने र आगामी वर्षमा सुरुङ मार्ग निर्माणका लागि टेण्डर आह्वान गरी निर्माण कम्पनीलाई ठेक्का लगाइने विभागको भनाइ छ ।
सम्भाव्यता अध्ययनपछि सवारी साधन आवागमनको चापअनुसार सुरुङ मार्ग निर्माणलाई प्राथमिकता दिइने नेपालले बाह्रखरीसँगको कुराकानीमा बताए ।
नौबिसे–नागढुङ्गा सुरुङ मार्गको डिपिआर बन्दै
यी पाँचवटा सुरुङ मार्ग निर्माण अघि नै नौबिसे–नागढुङ्गा सुरुङ मार्ग निर्माणको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बन्ने तयारी अन्तिम चरणमा पुगेको सडक विभागका महानिर्देशक गोपालप्रसाद सिग्देलले बताए ।
नौबिसे–नागढुङ्गा सुरुङमार्गको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गर्ने काम भइरहेकाले आगामी असोजसम्ममा टेण्डर आह्वान गर्न सकिने सिग्देलले जानकारी दिए ।
सम्पूर्ण डिजाइनसहित डीपीआर तयार गर्न माटो, पानी, चट्टान र भू–बनावट, सुरुङको लम्बाइको विवरण परामर्शदाताले अध्ययन गरेपछि मात्र सुरुङ मार्ग निर्माणको खर्च, लागतबारे भन्न सकिने सिग्देलले बताए ।
विभागका अनुसार विस्तृत अध्ययनपछि मात्र सुरुङ मार्ग निर्माणका लागि नेपाल सरकार वा दातृ निकायमार्फत निर्माण गर्ने भन्ने टुङ्गो लाग्नेछ ।
सुरुङ मार्ग निर्माण भइसके पनि यसमा जडान गरिने सडक बत्ती र अन्य ट्राफिक फर्निचर जडान गर्न थप समय लाग्ने सिग्देलले बताए । “कमजोर चट्टान र विद्युतको समस्याका कारण सुरुङमार्ग निर्माणमा थप प्राविधिक जटिलता छन्,” सिग्देलले भने, “डिपिआर बनिसकेपछि थप जानकारी हुनेछ ।”
नौबिसे–नागढुङ्गा सडक अन्तर्गत दहचोक–सिस्नेखोला सुरुङ मार्गमा जापानले लगानी गर्ने सम्झौता गरिसकेको छ । जाइकाको १५ अर्ब रुपैयाँ सहुलियत ऋणमा निर्माण गरिने नागढुङ्गा–नौबिसे सडकखण्ड सुरुङ मार्गको लम्बाइ २.७ किलोमिटर हुनेछ ।
२०७९ भदौसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त सुरुङ मार्गको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) निर्माण कार्य अन्तिम चरणमा पुगेको विभागको भनाइ छ ।
Leave a Reply
You must be logged in to post a comment.