पहिलो चरणको बाहिरी चक्रपथमा निर्माण गर्न साढे ६ अर्ब रुपैया

outer-ring-road

डेढ दशकदेखि चर्चामा रहेको बाहिरी चक्रपथको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पारित भएसँगै योजना अघि बढ्ने देखिएको छ।

लामो समयदेखि योजनामै सीमित बाहिरी चक्रपथ बन्ने भएपछि उपत्यकावासी उत्साहित समेत बनेका छन् । मन्त्रिपरिषद् बैठकले यही वैशाख ४ गते बाहिरी चक्रपथको डिपिआर स्वीकृत गरेको थियो । सो बैठकले बाहिरी चक्रपथको चोभार–सतुंगल खण्डको प्रस्तावित ६.६ किलोमिटर जग्गा एकीकरणमार्फत  निर्माण गर्ने निर्णय समेत गरेको छ।

सहरी विकास मन्त्रालयका पूर्वसचिव किशोर थापा सरकारले ढिलै भए पनि बाहिरी चक्रपथ निर्माण गर्न गतिलो निर्णय गरेको बताउँछन् । ‘एक दशक अवधि बाहिरी चक्रपथ बनाउने कि नबनाउने विवादमै अल्झियो,’ उनले भने, ‘अहिले पूर्वाधार निर्माणमा जग्गाको क्षतिपूर्ति र मुआब्जा विवाद निकै चर्केको छ, त्यसैले अबको विकासको मोडल भनेकै जग्गा एकीकरणमार्फत गर्नुपर्ने देखिन्छ।’

उनले जग्गा एकीकरणमार्फत पूर्वाधार निर्माण गर्दा कोही विस्थापित नहुने बताए । यसैगरी, यो मोडलमा जाँदा सरकारले अर्बौं मुआब्जा दिनुपर्ने बाध्यता पनि नपरेको थापाले बताए । चन्द्रागिरि नगरपालिका– ११ का वडाध्यक्ष हरिभक्त महर्जन सरकारले बाहिरी चक्रपथ बनाउने निर्णय गरेसँगै जनतामा बाहिरी चक्रपथ बन्ने आशा जागेको बताए।

मन्त्रिपरिषद् बैठकले डिपिआर स्वीकृत गरेसँगै बाहिरी चक्रपथ निर्माण गर्ने बाटो खुलेको बाहिरी चक्रपथ आयोजनाका शाखा अधिकृत धु्रवप्रसाद सापकोटाले बताए ।

‘सरकारले बाहिरी चक्रपथ बनाउने निर्णय गरेर काठमाडौंवासीको डेढ दशकभन्दा लामो सपना पूरा गर्न खोजेको छ, जसले स्थानीयमा उत्साह र उमंग मात्रै होइन, काँठ एरियामा विकासको मूल फुट्ने आशा पलाएको छ,’ उनले भने । सरकारले निर्णय गरेर मात्रै नहुने उनको भनाइ छ।
‘आफ्नो निर्णयलाई इमानदारीपूर्वक कार्यान्वयन गर्दै लैजानुपर्ने देखिन्छ,’ वडाध्यक्ष महर्जनले भने । महर्जनले बाहिरी चक्रपथले जनतालाई विकासको बाटोमा जोड्ने भएकाले खुलेर सहयोग गर्नुपर्ने बताए।

मन्त्रिपरिषद् बैठकले डिपिआर स्वीकृत गरेसँगै बाहिरी चक्रपथ निर्माण गर्ने बाटो खुलेको बाहिरी चक्रपथ आयोजनाका शाखा अधिकृत धु्रवप्रसाद सापकोटाले बताए । ‘सरकारले डिपिआर पारित गरेसँगै डेढ दशकदेखि योजना र कागजमै सीमित बाहिरी चक्रपथ बन्ने सुनिश्चित भएको छ,’ उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यभार सम्हालेको १००औँ दिनमा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।’

पहिलो चरणमा सतुंगल–गाम्चा–चोभार खण्डको साढे ६ किलोमिटर सडक निर्माण गर्न जग्गा अधिग्रहणको सूचना सार्वजनिक गरेर ३५ दिनभित्रै निर्माण थाल्ने तयारी बाहिरी चक्रपथ आयोजनाले गरेको छ । ‘बाहिरी चक्रपथ निर्माणमा  स्थानीयबाट अवरोध आएको छैन, सबैले छिटो निर्माण गर्न दबाब दिइरहेका छन्,’ उनले भने, ‘उपभोक्ता समिति गठन गरेर जग्गा एकीकरणको काम थाल्छौँ, पहिलो चरणमा उपभोक्ता समिति गठन गरेर जग्गा एकीकरणको काम बढाइनेछ ।’उनका अनुसार जग्गा दलालले बाहिरी चक्रपथ निर्माणले स्थानीयलाई विस्थापित गर्ने भ्रम छरिरहेको पाइएको छ।

सो कुरामा विश्वास नगर्न अनुरोध गरिएको छ । बाहिरी चक्रपथ जग्गा एकीकरणमार्फत बनाउन लागेका हौँ, त्यसैले जग्गा एकीकरणमार्फत बस्ती बसाल्दा कोही विस्थापित हुनुपर्दैन,’ उनले भने, ‘जग्गाधनीले केही समयका लागि जग्गा सरकारलाई बुझाउनुपर्ने हुन्छ, सरकारले डिजाइन सम्पन्न गर्नेबित्तिकै जनतालाई फिर्ता गर्नेछौँ ।’
बाहिरी चक्रपथले उपत्यकाका काँठ क्षेत्र र सहरलाई जोड्नेछ । बाहिरी चक्रपथमा काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै जिल्लालाई समेटिनेछ । बाहिरी चक्रपथ निर्माणमा स्थानीयको ३५ प्रतिशत जग्गा लाग्नेछ।

६५ प्रतिशत जग्गा व्यवस्थित सहरीकरण गरेर जनतालाई फिर्ता गरिनेछ । काठमाडौं उपत्यका विकास प्राधिकरण नियमावली– २०६८ को नियम– १३ अनुसार जग्गा एकीकरण गर्न न्यूनतम क्षेत्रफल दुई आना दुई पैसा तोकिएको छ । योभन्दा कम क्षेत्रफल हुनेले भने एकीकरण गरिएको बिक्री प्लटबाट सस्तो मूल्यमा जग्गा खरिद गर्न वा चलन–चल्तीको मूल्यमा बिक्री गर्न पाउनेछन् । शाखा अधिकृत सापकोटाका अनुसार बाहिरी चक्रपथ निर्माणका क्रममा भत्काइने जग्गा तथा घरको क्षतिपूर्तिसहित मुआब्जा उपलब्ध गराइनेछ।

‘मालपोत कार्यालयले तोकेअनुसार नै क्षतिपूर्ति र मुआब्जा उपलब्ध गराइनेछ,’ उनले भने, ‘यति नै भनेर अहिले भन्न सकिँदैन ।’ एकीकरण गरिएको जग्गामा व्यवस्थित भवन, खुला आवास क्षेत्र, ढल, खानेपानी, बिजुली, सामुदायिक भवनलगायत पूर्वाधारलाई प्राथमिकतामा राखेर डिजाइन गरिनेछ।

सरकारले पहिलो चरणको सडक निर्माण गर्न साढे ६ अर्ब रुपैया“ छुट्ट्याएको छ।  सापकोटाका अनुसार दुई वर्षभित्र सरकारले जग्गा एकीकरण गरेर जनतालाई फिर्ता गर्नेछ । बाहिरी चक्रपथको ५० मिटर अधिकार क्षेत्र सहितको मूल सडकको सम्पूर्ण निर्माण खर्च सरकारले बेहोर्नेछ । बाहिरी चक्रपथको मूल सडकबाट दायाँ–बायाँ दुई सय ५० मिटर क्षेत्रफलमा जग्गा एकीकरण (ल्याल्ड–पुलिङ)बाट व्यवस्थित सहरीकरण गर्न लागिएको हो।

बाहिरी चक्रपथमा ८ लेनको सडक, साइकल यात्रीका लागि छुट्टै लेन, हरियाली क्षेत्र र फुटपाथ तथा अपांगमैत्री पेटी बन्नेछ । बाहिरी चक्रपथ आयोजना अन्तर्गत सात हजार आठ सय रोपनी जग्गामा अब बेच्न र पूर्वाधार बनाउन पाइनेछैन । यो काठमाडौं–तराई द्रूतमार्गसँग पनि जोडिनेछ । बाहिरी चक्रपथको लम्बाइ ७१.९३ किलोमिटर हुनेछ । त्यसमध्ये काठमाडौंमा ३५.०८, ललितपुरमा १५.८०  र भक्तपुरमा २१.०५ किमि क्षेत्र पर्छन्।साभार:- नागरिक