एमाले र माओवादी केन्द्रको एकता

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले एकता गर्दै ‘नेपाल कम्युनिष्ट पार्टी’ स्थापना गरेका छन् । वाम एकता संयोजन समितिले विहान पार्टी एकताको निर्णय गरेअनुसार दुवै दलको केन्द्रीय समितिले सो निर्णय अनुमोदन गर्दै आ–आफ्ना सांगठनिक संरचना भंगको निर्णय गरेका थिए ।

लगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एकीकृत पार्टीको पहिलो बैठकमा केन्द्रीय सदस्यले नयाँ पार्टीको सदस्यको रुपमा सपथ लिएका छन् । बैठकले पार्टी एकतालाई ऐतिहासिक भनेको छ । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले पार्टीको अनुसाशन र मर्यादाभित्र बस्न निर्देशन दिएका थिए ।

दुई अध्यक्षात्मक प्रणालीका रुपमा एकीकृत पार्टीको नेतृत्व केपी शर्मा ओली र पुष्पकमल दाहालले गर्ने छन् । माक्र्सवाद, लेनिनवाद मार्गदर्शक सिद्धान्त रहने एकीकृत पार्टीमा जनताको बहुदलीय जनवाद, एक्काइसौ शताब्दीको जनवाद, माओवादलगायत विषयमा महाधिवेशनसम्म छलफल चलाउँदै लगिने बताइएको छ । दुई दलको एकतासँगै नेपाल कम्यूनिष्ट पार्टी संघीय संसदको सबैभन्दा ठूलो दल बनेको छ ।

पार्टी सञ्चालनका लागि नेताको मर्यादा तोक्दै नौ सदस्यीय सचिवालय गठन गरिएको छ । केपी शर्मा ओली शीर्ष स्थानमा रहँदा पुष्पकमल दाहाल दोस्रो, माधवकुमार नेपाल तेस्रो र झलनाथ खनाल चौथो बरीयतामा छन् । पाँचौमा वामदेव गौतम, छैठौंमा नारायणकाजी श्रेष्ठ, सातौंमा ईश्वर पोखरेल, आठौंमा रामबहादुर थापा र नवौं बरीयतामा बिष्णु पौडेललाई राखिएको छ । पौडेललाई महासचिव र श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ वापन्थी दलको एकीकरण प्रक्रिया सुरु भएको भन्दै नेताहरुले विस्तार गर्दै लगिने बताएका छन् ।

विधानअनुसार यसअ अघि ४३ सदस्यीय भनिएको एकीकृत पार्टीको स्थायी समिति ४५ सदस्यीय पु¥याइएको छ । स्थायी समितिमा एमालेका २६ र माओवादी केन्द्रका १९ तथा ४ सय ४१ सदस्यीय केन्द्रीय समितिमा एमालेका २ सय ४१ र माओवादी केन्द्रका २ सय सदस्य रहने छन् । नेपाली वाम आन्दोलनलाई लोकतान्त्रिक धारमा ल्याउने श्रेय पाएका एमालेका तत्कालिन महासचिव मदन भण्डारीको २५ औं स्मृति दिवसको अबसरमा एमाले र माओवादी एकीकृत भएका हुन् ।