कलंकीको अन्डर पास: ८५ प्रतिशत काम सकियो, साउनबाट खुल्ने

काठमाडौँ: नेपालकै पहिलो कल‌ंकी चोकस्थित अन्डर पास (सुरुङ मार्ग) निर्माणलाई चीनले अन्तिम चरणमा पुर्‍याएको छ । साउनभित्र निर्माण सक्ने लक्ष्यका साथ रातदिन यहाँ काम भइरहेको छ ।

काठमाडौँ चत्रपथ सुधार योजना अन्‍तर्गत कंलकी अन्डरपासको काम तीब्र गतिमा भइरहेको छ । राजधानीकै सबैभन्दा ब्यस्तमध्ये एक कलंकीमा ट्राफिक जाम अन्त्य गर्ने लक्ष्यका साथ अन्डरपास निर्माण गरिएको हो ।

यस्तो छ अन्डर पास

निर्माणधीन अन्डरपास ८ सय मिटर लामो छ । कंलकी चोकबाट बल्खु खण्डतर्फ ४ सय मिटर र सीतापाइला खण्डतर्फ ४ मिटर लामो छ । अन्डरपास माथिको खण्ड दायाँबायाँ २-२ लेन र अन्डरपास ४ लेनको हुनेछ । चक्रपथ सुधार योजनाका इन्जिनियर निरन्जन अर्यालले अन्डरपासको ८५ प्रतिशत काम सकिएको जानकारी दिए । ।

अन्डरपाससहति कोटेश्वर-कलंकी सडकको निर्माण चक्रपथ सुधार योजनाले गरिरहेको छ । चीनको ५ अर्ब रुपैयाँ अनुदान सहयोगमा निर्माण भइरहेको उक्त सडकको ७५ प्रतिशत काम सकिएको अर्यालले जानकारी दिए । उनले अन्डरपाससहित सडक निर्माणको काम तीब्र गतिमा भइरहेको बताए ।

नाकाबन्दी र भूकम्प भिलेन

चीनको संघाई कन्स्ट्रक्सनले सन‍् २०१७ जनवरी भित्रै निर्माण पुरा गर्ने लक्ष्यका साथ ठेक्का सम्झौता भएको थियो । भूकम्प र नाकाबन्दीका कारण एक वर्ष पछि सरेको छ ।

कुनै अवरोध नभएमा सन् २०१८ जुलाईसम्ममा सडकको काम पनि सकिनेछ । ‘हामी जुलाई भित्रका कुनै हाल काम सक्ने गरी निर्माण कार्य गरिरहेका छौँ’, अर्यालले भने, ‘कंलकीको अन्डरपासपछि नयाँ बानेश्वर र महाराजगन्जमा अन्डरपासको निर्माण गरिनेछ । नयाँ बानेश्वर र महाराजगन्जमा अन्डरपासको सम्भाव्यता अध्ययन थालिएको छ ।

कलं‌की-कोटेश्वर पनि तीब्र गतिमा

इन्जिनियर अर्यालका अनुसार कलंकी-कोटेश्वर साढे १० किलोमिटर सडकको कोटेश्वरदेखि सानेपासम्म दायाँबायाँ लेनको पिच सकिएको छ । कोटेश्वरबाट एकान्तकुनासम्म मुख्य लेनमा समेत पिच भइसकेको छ ।

कलंकी-कोटेश्वर ८ लेनको सडक निर्माण तीब्र गतिमा भइरहेको इन्जितियर अर्यालले बताए । उक्त सडक खण्डमा रहेका ८ वटा पक्की पुल र ४ वटा आकाशे पुल समेत निर्माण भइसकेका छन् ।

खसी बजारमा २ वटा, बल्खुमा ४ वटा र बालकुमारीमा २ वटा पक्की पुल बनिसकेका छन् । कोटेश्वर, ग्वार्को र बागडोलमा १-१ वटा आकाशे पुल बनिसकेका छन् । अर्यालले कोटेश्वर-कलंकी सडकको निर्माण जुलाईसम्म पुरा हुने बताए ।

अन्डरपाससहित कोटेश्वर-कंलकी सडकको निर्माण पुरा भएपछि काठमाडौँको मुहार फेरिने विश्वास महानगरबासीको छ । उता कंलकीको चर्को जाम र धुलोधुवाँबाटसमेत राहत मिल्नेछ ।

यो परियोजना सकिएपछि चीनकै सहयोगमा कलं‌कीबाटै गौशालासम्म चक्रपथलाई आठ लेनमा विस्तारका लागि सम्झौता भइसकेको छ ।