चोरीको सुन सहित दहचोक १ का सुन्दर रोक्का पक्राउ

महानगरिय प्रहरी वृत्त थानकोटले चोरी सुन सहित एक जनालाई पक्राउ गरेको छ ।
महानगरिय प्रहरी वृत्त थानकोटको विषेश अप्रेशन टोलीले चोरी सुन सहित १ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौ दहचोक १ बस्ने सुन्दर रोक्का रहेको महानगरिय प्रहरी बृत थानकोटका प्रमुख प्रहरी नायव उपरिक्षक नवरत्न पौडेलले जानकारी दिए । चन्द्रगिरि ५ गुर्जुधार स्थाई घर भएकी
रमिता श्रेष्ठको घरवाट असार २० गते राती मंगल सुत्र १ थान,झम्का २ जोर,कानमा लगाउँने रिङ १ जोर सिक्री १ थान चन्द्रमा १ थान चोरी भएको थियो । प्रहरीको विशेष टोलीले उक्त चोरीको सुन सहित पक्राउ गर्न सफल भएको थानकोट प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरीले काठमाडौको बिष्णुमति पुल नजिकै चितुवाको छाला सहित १ जनालाइ पक्राउ गरि अनुसन्धान भईरहेको जनाएको छ ।

नेपाली सेनाका जवान अनमोल झाँक्री चितुवाको छालासहित पक्राउ परेका छन् ।

धनकुटामा कार्यरत झाँक्रीलाई बिदामा आएको बेला अवैध रुपमा चितुवाको छाला बोकेर हिँडेको अवस्थामा काठमाडौं–२६ स्थित विष्णुमति पुलबाट प्रहरीले पक्राउ गरेको हो ।

रोल्पाको थमाङ्ग गाउँपालिका–१ स्थायी घर भएका झाँक्री विगत १० वर्षदेखी नेपाली सेनामा कार्यरत थिए । महानगरीय प्रहरी प्रभाग गोंगवुको सुचना अनुसार पक्राउ परेका उनलाई आवश्यक कारवाहीका लागी जिल्ला बन कार्यालय हात्तिसार पठाईएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रामदत्त जोशिले जानकारी दिए ।

रेडपाण्डाको छालासहित ३ जना पक्राउ

यसैबीच दरबारमार्ग क्षेत्रबाट ५ वटा रेडपाण्डाको छालासहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सोलुखुम्बु स्थायी घर भई गाकर्ण बस्दै आएका शुक्र राई, सोलुखुम्बुकै अजित बस्नेत र पवन श्रेष्ठ रहेका छन् ।