त्रिपुरेश्वर-कलंकी-नागढुङगाको काम ५० प्रतिशत मात्र सम्पन्न

काठमाडौं । त्रिपुरेश्वर-कलंकी-नागढुङगाको काम ५० प्रतिशत मात्रै सकिएको छ । सिडीयो कार्यालयले काटेको अत्यन्त जरुरीपत्रको प्रतिक्रिया दिदैं काम गरिरहेका ६ ठेकेदारले ५० प्रतिशत मात्रै काम सकिएको विवरण बुझाएका हुन् ।

कामको प्रगती विवरणमा ठेकेदार कम्पनीहरुले काम नसक्नुमा सर्वोच्च अदालत र स्थानीय वासिन्दा प्रमुख कारण भएको बताएका छन् । कम्पनीहरुले काम ढिलो हुनुमा सर्वोच्च अदालतको पुर्ण पाठ र स्थानीयको अवरोधलाई बाधक मानेका हुन् ।

सडकखण्डको दुई कामको जिम्मा लिएको शर्मा शैलुङ कान्छाराम जेभीले २०७५ सालको पुससम्ममा काम सक्ने सम्झौता भएपनि ४५ प्रतिशत मात्रै काम सकेको छ ।

कार्तिक ३० गते काम सक्ने गरी जिम्मा लिएको बजुगुरु विरुवा सिएम जेभीले हालसम्म ५० प्रतिसत मात्रै काम सकेको छ । त्यस्तै लुम्बिनी शैलुङ जेभीले असोज ३ गते काम सक्ने गरी जिम्मा लिएको काम हालसम्म ४० प्रतिसत मात्रै काम सकेको छ ।

त्यसैगरी चालु आर्थिक वर्षकै फागुन १४ गतेसम्म आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको युनाइटेड विल्डर्स एण्ड इन्जिनियर्स प्रालीले सबैभन्दा थोरै १० प्रतिशत मात्रै काम सकेको छ ।

अर्का ठेकेदार कम्पनी बज्रगुरु च्याङमिल खानी जेभीले ४० प्रतिसत मात्रै काम सकेको छ । कम्पनीले पुस १३ गते सडक निर्माण सम्पन्न गरी सरकारलाई हस्तान्तरण गर्ने सम्झौता गरेको थियो ।

काठमाडौंमा समयमै काम नसक्ने २१० कम्पनीले आयोजनाको प्रगती विवरण बुझाएको सहायक जिल्ला प्रमुख अधिकारी बासु घिमिरेले बताए । २१० कम्पनीको कामको प्रगती मुल्याङकन गरिरहेका छौं, सन्तोस जनक काम नभए कारबाही प्रक्रिया अघि बढाउछौं, सहायक प्रमुख घिमिरेले विकासन्युसँग भने ।

उनले सडक, खानेपानी लगायतका आयोजना प्रमुखको नाम, ठेगाना, नम्बरसहित कामको प्रगती विवरण आएको जानकारी दिए ।

यसअघि गृह मन्त्रालयले भवन, सडक तथा पुल निर्माणको ठेक्का लिएर लापरवाही ढंगले काम गर्ने र ठेकेदारको सूची बनाएर पठाउन देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो ।

विकास न्युज बाट साभार ।