बसको डिक्कीमा हाली काठमाडौँ लैजादै गरेका २८ वटा मरेका खसी बोका नागढुंगामा भेटिए पछि…

चन्द्रागिरि, 

पशुपन्छी विकास मन्त्री सन्तकुमार थारु नेतृत्वको अनुगमन टोलीले काठमाडौंको नागढुंगाबाट २८ वटा मरेको खसीबोका बरामद गरेको छ ।

आज नाकाहरुमा पशुपन्छीको आयातको अवस्था अध्ययन गर्न निस्किएका मन्त्री थारु नेतृत्वको टोलीले नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रु बसको डिक्कीबाट २८ वटा मरेको खसीबोका बरामद गरेको हो ।
डिक्कीभित्रै १३ वटा ज्युँदो खसीबोका पनि भेटिएको मन्त्रीका स्वकीय सचिव रामु सिग्देलले अनलाइनखबरलाई जानकारी दिए ।
ति खसीबोका डिक्कीमा राखेर ल्याउँदा तापक्रम असन्तुलन र पर्याप्त अक्सिजनको अभावमा मरेको हुन सक्ने अनुमान गरिएको छ ।

दशैंमा काठमाडौंमा खसीबोकाको माग उच्च भएका बेला मरेका खसी बरामद भएको हो । यसरी मेरका खसीलाई मासुपसलहरुमा बेच्ने गरिएको आशंका गरिएको छ ।

यसअघि पनि नागढुंगाबाट पटक-पटक यस्ता मरेका खसी बरामद भएका थिए ।