मत्स्यनारायण मन्दिरमा भोलिदेखि एक महिने मेला सुरु

चन्द्रागिरी, काठमाडौँको दक्षिण पश्चिम भेगमा पर्ने मच्छेगाउँस्थित मत्स्यनारायण मन्दिरमा भोलिदेखि एक महिने मेला सुरु हुने भएको छ । प्रत्येक पटक पुरुषोत्तम महिना (मलमासको अवधिभर) यहाँ मेला लाग्ने र मेला भर्न काठमाडौँ उपत्यका तथा त्यस आसपास क्षेत्रबाट हजारौँ भक्तजन सहभागी हुने गर्छन् ।

धर्मशास्त्रीय मान्यताअनुसार अशुद्ध महिनाका रुपमा परिचित यो महिना सौर्यमान र चन्द्रमानबीच हुने अन्तरका कारण प्रत्येक ३२ महिना १६ दिन ४ घडी पछि पर्दछ । अधिकमासका रुपमा समेत लिइने यस महिनाको अधिपत्य भगवान् पुरुषोत्तमले स्वीकार गरेकाले यो महिनालाई पुरुषोत्तम महिना पनि भनिन्छ ।

यस अवधिमा विशेष गरी शुभकार्य गर्न नहुने धार्मिक मान्यतासमेत छ । त्यसैले यस अवधिमा नारायणको दर्शन तथा पूजा गर्नाले पाप क्षय भई मुक्ति प्राप्त हुने जनविश्वास रहेको छ ।

मलमास अवधिभर कीर्तिपुरबाट चार किमी दक्षिणमा पर्ने मच्छेनारायण मन्दिरमा नारायणको पूजा, पुरुषोत्तम महात्म्य वाचन गर्ने परम्परा छ । भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छन् भन्ने धर्मग्रन्थमा समेत उल्लेख छ । मच्छेगाउँमा लाग्ने यो मेलाका कारण एक महिना अवधिभर अत्यधिक भक्तजन आउने भएकाले यस क्षेत्रको व्यापार व्यवसाय पनि बढ्ने स्थानीयवासी बताउँछन् ।