सिस्नेखोला दहचोक सुरुङ मार्गमा दुर्घटना, एक मजदुरको मृत्यु

धादिङ काठमाडौँ जोड्ने सिस्नेखोला दहचोक सुरुङमार्गमा काम गरिरहेका एक मजदुरको बिहीबार राति सुरुङभित्र दुर्घटनामा परी मृत्यु भएको छ ।

मृत्यु हुनेमा धुनिबेशी नगरपालिका–९ का कानाकोट बस्ने वर्ष २८ का ओमकृष्ण पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सुरुङभित्रको माटो बाहिर ल्याउने सवारी साधनले सुरुङमा काम गरिरहेका उनलाई ठक्कर दिएर घाइते बनाएको थियो ।

घाइते पाण्डेको उपचारका लागि ट्रमा सेन्टर लाँदै गर्दा मृत्यु भएपछि मृतकका परिवारलाई उचित क्षतिपूर्ति र मजदुरको सुरक्षाको अनुभूति दिलाउन पीडित पक्ष, प्रहरी र निर्माण कम्पनीबीच सुरुङमार्गस्थलमै काम रोकेर वार्ता भइरहेको प्रहरीले जानकारी दिएको छ ।

मृतक मजदुरको निर्माण कम्पनीले बीमा गरेकाले सोहीअनुसार क्षतिपूर्ति दिने कम्पनीले जनाएको छ ।