कालिकोटमा बम विस्फोट हुँदा २ जनाको मृत्यु, ३ जना गम्भीर घाइते

कालीकोटको तिलागुफा नगरपालिका-१० रानावाडामा भएको बम विस्फोटमा २ जना बालिकाको मृत्यु भएको छ । एक बालिकाको घटनास्थलमै र अर्की बालिकाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको हो ।

विष्फोटमा ३ जना गम्भीर घाइते भएका छन् । स्थानीय कोदोबारीमा बिष्फोटक पदार्थ पड्किँदा स्थानीय ४ वर्षकी झरना थापाको घटनास्थलमै मृत्यु भएको थियो । तिलागुफा नगरपालिका १० कै ४ वर्षकी सरस्वती रानाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी जयश्वर रिमालले जानकारी दिए ।

तिलागुफा नगरपालिका-१०  रानावाडका ७ वर्षका कमल थापा, ५ वर्षिया मुस्कान थापा र ४ वर्षिया दर्शना राना गम्भीर घाइते भएका छन् । उनीहरुको सुर्खेतमा उपचार भइरहेको छ । हेलिकप्टरबाट चारजना घाइतेलाई नै सुर्खेत ल्याइएको थियो । ति मध्ये एकजनाको उपचारका क्रममा मृत्यु भएको हो ।

पाँच बालबालिका खेलिरहेको अवस्थामा एक्कासी बम विस्फोट भएको प्रहरीको भनाइ छ । बारीमा बम कसले राख्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।