
काठमाडौं। काठमाडौंको चन्द्रागिरि नगरपालिकामा ३३ उम्मेदवारले मनोनयन फिर्ता लिएका छन्। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि चन्द्रागिरि नगरपालिकामा विभिन्न पदका लागि उम्मेदवारी दर्ता गराएका ३३ जनाले शुक्रबार उम्मेदवारी फिर्ता लिएका हुन्।
चन्द्रागिरिका निर्वाचन अधिकृत सिर्जना थपलियाले १ प्रमुख र २ उपप्रमुखसहित ३३ जनाले मनोनयन फिर्ता लिएको जानकारी दिए। उनका अनुसार मनोनयन फिर्ता लिनेमा नेकपा माओवादी केन्द्रबाट नगरपालिका प्रमुखका उम्मेदवार दिलबहादुर श्रेष्ठ, माओवादी केन्द्रकै उपप्रमुखकी उम्मेदवार रूपा महर्जन र कांग्रेसबाट उपप्रमुखकी उम्मेदवार यमुनादेवी श्रेष्ठ रहेका छन्।
यस्तै, बाँकी ३० वडाध्यक्ष तथा वडासदस्यका उम्मेदवारले पनि उम्मेदवारी फिर्ता लिनुभएको निर्वाचन अधिकृत थपलियाले जानकारी दिए ।
चन्द्रागिरि नगरपालिकामा २१ प्रमुख र १० उपप्रमुखसहित ३८७ जनाको उम्मेदवारी परेको थियो । अब चन्द्रागिरि नगरका विभिन्न ७७ पदका लागि ३४९ जनाले प्रतिस्पर्धा गर्नेछन् ।