चन्द्रागिरिमा राँगोले आतंक मच्चाएपछि गोली हानेर मारियो

प्रहरीले चन्द्रागिरि नगरपालिका ४ गोदाम चौरमा राँगोलाई गोली हानेर मारेको छ । राँगोले आतंक मच्चाएपछि प्रहरीले आज बिहान साढे ७ बजेतिर एक राउन्ड गोली हानी राँगो मारेको हो।



jibss

थानकोट प्रहरीका अनुसार नेपालगञ्जबाट गाडीमा ल्याइएको उक्त राँगो चन्द्रागिरि ३ खरीबोटमा शुक्रबार बिहान ३ः३० बजे गाडीबाट झार्ने क्रममा भागेपछि खरिबोट-त्रिभुवन पार्क- चेकपोष्ट हुँदै गोदाम पुगेर स्थानीय बारीको कम्पाउण्डमा  पसेको थियो ।

उक्त राँगोलाई नियन्त्रणमा लिन सम्भव नदेखिएपछि प्रहरीले एक राउण्ड गोली हानेको थियो ।

गोली प्रहार गरेर राँगो मारिएपछि अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

चन्द्रागिरिमा राँगोलाई प्रहरीले गोली हानेर मारेको यो पहिलो घटना भने होइन । यसअघि २०७५ साल फागुन ११ गते चन्द्रागिरि नगरपालिकाको मच्छेगाउँ हुँदै दहचोकसम्म लखेटेर प्रहरीले गोली हानेर सो राँगोलाई मारेको थियो ।

यस्तै २०७१ साल मंसिर १५ गते ह्याम्स अस्पतालको तत्कालीन बुद्धनगरस्थित कार्यालयमा पसेर भैंसीले आतंक मच्चाएपछि प्रहरीले अस्पताल परिसरमै गोली हानेर मारेको थियो ।