चन्द्रागिरि नगरपालिका वडा नं ८ ले बाँड्न लागेको ११० थान साडी प्रहरीद्वारा बरामद

चन्द्रागिरि नगरपालिका वडा नं ८ ले निर्वाचन आचारसंहिता विपरित स्थानीय महिलाहरूलाई वितरण गर्न लागेको साडी प्रहरीले बरामद गरेको छ।

स्थानीय महिलाहरूलाई वितरण गर्न भनी चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ कार्यालयले खरिद गरेको ११० थान साडी प्रहरीले बरामद गरेको हो ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष सन्तोष खड्काले हस्ताक्षर गरेको एक सूचनामा महिलाहरूलाई शनिबार दिउँसो २ बजे साडी बाँड्न लागेको उल्लेख गरिएको थियो ।

उक्त सूचनाबारे निर्वाचन आयोगले समेत चासो देखाएपछि वडा कार्यालयले साडी वितरण कार्यक्रमको सूचना भ्रामक रहेको भन्दै खण्डन गरेको थियो।

निर्वाचन अधिकृतलाई सो सूचना दिइएको थियो। त्यसआधारमा प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग बलम्बुबाट संयुक्तरुपमा खटिएको टोलीले चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ को वडा कार्यालय भवनबाट वितरण गर्न तयारी अवस्थामा राखिएको एक सय १० थान साडी बरामद गरेको हो ।

उक्त घटनाको सम्बन्धमा प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

वडा कार्यालयले महिलाहरूलाई साडी वितरण गर्न लागेको सूचना शनिबार बिहानैदेखि सामाजिक सञ्जालमा भाइरल भएको थियो ।