साबुनको तौल तथा लेभल नराखेर बिक्री वितरण गरेकोले दहचोकको साबुन उद्योग कारबाहीमा

काठमाडौँ – तपाईले व्यापार-व्यवसायको सिलसिलामा कतै आम उपभोक्तालाई ठगी त गर्नु भएको छैन ? ठगी गरेको भए कारबाही पर्नुहोला । गुणस्तर तथा नापतौल कार्यालयले उपभोक्ता ठगी गर्ने १३ कम्पनी तथा ट्याक्सी चालकविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको छ ।
कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा उपभोक्ता ठगी गर्ने काभ्रेपलाञ्चोक भकुण्डेबेंसीको पशुपति आयल स्टोर्स, नुवाकोटस्थित वनदेवी आयल स्टोर्स, चन्द्रागिरि दहचोकमा रहेको शुभशोप एन्ड केमिकल उद्योग, बालाजुस्थित राजेश हार्डवेयर, काभ्रेपलाञ्चोकको चण्डेश्वरी डेरी फर्म रहेका छन् ।

यस्तै, भक्तपुरको सूर्यविनायकमा रहेको चम्पकेश्वर हार्डवेयर, कालीमाटीमा रहेको एचआर ट्रेड लिङ्क, काठमाडौँको मूलपानीस्थित जी एन्ड जी हार्डवेयर, इन्टरनेशनल सिमेन्ट प्रालि वीरगञ्ज र चारवटा ट्याक्सी चालकविरुद्ध मुद्दा दर्ता गरेको हो । कार्यालयका सूचना अधिकारी एवम् निरीक्षक निराजन पुडासैनी चालु आर्थिक वर्षमा २८ एकल अनुगमन तथा ९९ संयुक्त अनुगमनका क्रममा ठगी गर्ने १३ कम्पनी तथा ट्याक्सी चालकविरुद्ध मुद्दा दायर गरिएको बताउँछन् ।

कुन कम्पनीलाई कस्तो जरिवाना माग ?

गुणस्तर तथा नापतौल कार्यालयले काभ्रेपलाञ्चोकको भकुण्डेबँेसीमा रहेको पशुपति आयल स्टोर्सले १० लिटर पेट्रोलियम पदार्थ बिक्रीवितरण गर्दा दुई सय ५० मिलीलिटरसम्म घटी बेचेकाले कारबाही गरेको हो । उक्त आयल स्टोर्सलाई वाणिज्य विभागले रु दुई लाख जरिवाना गरिसकेको छ भने नापतौल कार्यालयले एक वर्ष कैद र रु १० हजारसम्म जरिवाना माग गरी मुद्दा दर्ता गरेको छ ।

नुवाकोटमा रहेको वनदेवी आयल स्टोर्सले डिजेल तथा पेट्रोल पम्पमा गुणस्तर तथा नापतौल कार्यालयले लगाएको सिल छिनाएर डिजेल तथा पेट्रोल बिक्रीवितरण गरेकाले नापतौल कार्यालयले तीन वर्ष कैद र ३० हजारसम्म जरिवाना माग गरी अदालतमा मुद्दा दर्ता गरेको सूचना अधिकारी पुडासैनीले बताए ।

चन्द्रागिरि नगरपालिका-१ दहचोकमा सञ्चालित शुभशोप एन्ड केमिकल उद्योगले नाङ्गो साबुन उत्पादन गरेर बिक्रीवितरण गर्दा उक्त साबुनको तौल तथा लेभल नराखेर बिक्री वितरण गरेको भन्दै एक वर्ष कैद र रु १० हजारसम्म जरिवाना माग गरी मुद्दा दर्ता गरेको छ । सो उद्योगले तराजु समेत दर्ता नगरी सञ्चालन गरेको पाइएको नापतौल कार्यालयले जनाएको छ ।

बालाजुमा रहेको राजेश हार्डवेयरले बिक्रीवितरण गरेको फलाम (कृष्ण मेटल) मा बिलभन्दा कम तौल बिक्री गरेकाले नापतौल कार्यालयले कारबाहीस्वरुप अदालतमा मुद्दा दायर गरेको हो । उक्त हार्डवेयरलाई वाणिज्य विभागले समेत रु तीन लाख जरिवाना गरिसकेको छ भने नापतौल कार्यालयले एक वर्ष कैद र रु १० हजारसम्म जरिवाना माग गरी मुद्दा दर्ता गरेको छ ।

काभ्रेपलाञ्चोकमा सञ्चालित चण्डेश्वरी डेरी फर्मले उत्पादन गरेको घ्यूको बट्टामा उत्पादन मिति, तौल नराखी बिक्रीवितरण गरेकाले कारबाही गरेको हो । सो डेरीले नापतौल यन्त्र समेत दर्ता नगरी सञ्चालनमा ल्याएको सूचना अधिकारी पुडासैनीले बताए । उक्त डेरीले गरेको ठगी हेलो सरकारमार्फत नापतौल कार्यालयलाई उजुरी आएको थियो । उक्त डेरीलाई एक वर्ष कैद र रु १० हजारसम्म जरिवाना माग गरी काभ्रे जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको नापतौल कार्यालय काठमाडौँले जनाएको छ ।

भक्तपुरको सूर्यविनायकमा सञ्चालित चम्पकेश्वर हार्डवेयरले तराजु दर्ता नगरी हार्डवेयरका सामग्री बिक्रीवितरण गरेकाले कारबाही गरिएको नापतौल कार्यालयले जनाएको छ । उक्त हार्डवेयरलाई एक वर्ष कैद र रु १० हजारसम्म जरिवाना माग गरी अदालतमा मुद्दा दर्ता गरेको छ ।

काठमाडौँको कालीमाटीमा सञ्चालित एचआर ट्रेड लिङ्कले तोकिएको तौलभन्दा कम तौल चामल बिक्रीवितरण गरी ठगी गरेकाले नापतौल कार्यालयले कारबाही गरेको हो । उक्त कम्पनीले तराजुसमेत दर्ता नगरेको फेला परेको छ । सो कम्पनीविरुद्ध नापतौल कार्यालयले एक वर्ष कैद र रु १० हजारसम्म जरिवाना माग गरी मुद्दा दर्ता गरेको छ ।

काठमाडौँको मूलपानीमा सञ्चालित जी एन्ड जी हार्डवेयरले तराजु दर्ता नगरी सामान बिक्रीवितरण गरेकाले कारबाही गरेको हो । उक्त हार्डवेयरलाई एक वर्ष कैद र रु १० हजारसम्म जरिवाना माग गरी नापतौल कार्यालयले अदालतमा मुद्दा दर्ता गरेको छ ।

वीरगञ्जमा सञ्चालित इन्टरनेशनल सिमेन्ट प्रालिले तौलभन्दा घटी सिमेन्ट बिक्रीवितरण गरी ठगी गरेकाले कारबाही गरिएको नापतौल कार्यालयले जनाएको छ । सो सिमेन्ट कम्पनीलाई नापतौल कार्यालयले एक वर्ष कैद र रु १० हजारसम्म जरिवाना माग गरी मुद्दा दर्ता गरेको छ । यसबाहेक चारवटा ट्याक्सी चालकविरुद्ध पनि नापतौल कार्यालयले कारबाहीको माग गरी अदालतमा मुद्दा दर्ता गरेको छ । कार्यालयले बा१ज १५०३, बा १ज४७४९, बा१ज १६६७ र बा१ज ८८८२ नंको ट्याक्सीविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको हो ।

कार्यालयका सूचना अधिकारी पुडासैनीले पाँच वर्षसम्म नवीकरण नगरी ट्याक्सी चलाएको, दिउँसै रातिको भाडा लिएर (डेडी हानेको), मिटर बिगारेर ट्याक्सी चलाएर उपभोक्ता ठगी गरेकाले अदालतमा मुद्दा दर्ता गरेको जानकारी दिए । उक्त ट्याक्सीविरुद्ध एक वर्षदेखि तीन वर्षसम्म कैद र रु १० हजारदेखि ३० हजारसम्म जरिवाना माग गरी मुद्दा दर्ता गरेको नापतौल कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख राकेशकुमार झा जानीजानी सेवाग्राहीलाई ठगी गर्ने क्रम बढेकाले कार्यालयले कारबाहीस्वरुप उक्त कम्पनी तथा ट्याक्सी चालकविरुद्ध मुद्दा दायर गरेको बताउँछन् । ‘आम उपभोक्तालाई ठगी गर्ने जोकोहीलाई कारबाहीको दायरामा ल्याउछौं’ उनी भन्छन् । सो कार्यालयले आव २०७८/७९ मा रु एक करोड ८५ लाख ५४ हजार तीन सय ७८ राजश्व सङ्कलन गरेको छ । रासस