त्रिशूली बस दुर्घटनामा मृत्यु हुने सातै जनाको सनाखत, चन्द्रागिरि बस्ने एक पुरुषको निधन

त्रिशूली नदीमा बुधबार बिहान यात्रुवाहक बस खस्दा सात जनाको मृत्यु भएको छ।

रूपन्देहीबाट काठमाडौं आउँदै गरेको सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस बिहान ४:४० बजे धादिङको गजुरी गाउँपालिका-५ घाटबेशीस्थित सडकबाट सय मिटर तल त्रिशूली नदीमा खसेको थियो।

दुर्घटनामा सात जनाको घटनास्थलमै मृत्यु भएको हो भने ३८ जनाको उद्धार गरिएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सन्तु जैसवारका अनुसार मृत्यु हुनेमा १ जना महिला र ६ जना पुरूष छन्।

मृत्यु हुनेमा रूपन्देहीको बुटवल उपमहानगरपालिका–२ का रूवी श्रेष्ठ, काठमाडौंको चन्द्रागिरि नगरपालिका–१० का ५५ वर्षीय बेखा पुटुवर, कपिलवस्तुका महेन्द्र चौधरी, रूपन्देहीका जोगिन्दर यादव, रामकिशोर जैसवाल, नासिर अली र सराजुद्दीन मुसलमान छन्।

आफन्त र परिवारसँग सम्पर्क गरी मृतकको यकिन गरिएको प्रहरी नायब उपरीक्षक जैसवारले बताए।

प्रहरीका अनुसार सो बसमा रहेका नर्मदा सुवेदी, विराज गैरे र प्रकाश पाठक हराइरहेका छन्। उनीहरूको खोजी जारी छ।

यसै जिल्ला प्रहरी कार्यालय धादिङले घाइतेहरूको नामावली प्रकाशन गरेको छ । जसअनुसार चन्द्रागिरि नगरपालिका १० सतुगंलका ५१ वर्षीय धुर्व महर्जन पनि घाइते भएका छन् ।

घाइतेमध्ये केहीलाई काठमाडौं र चितवन पठाइएको छ। केही घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

बस चालक रूपन्देही लुम्बिनी संस्कृति नगरपालिका –९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

(राससको सहयोगमा)