नागढुंगा नाकामा दुई जना चालक नराख्ने ४१ वटा सवारी साधनका चालकहरु ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौँ । लामो दूरीका यात्रुवाहक सवारी साधनमा दुई जना चालक नराख्ने ४१ वटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। काठमाडौँको नागढुंगा नाकामा ट्राफिक कम्युनिकेसन एपमार्फत चेकिङ गर्दा दुई जना चालक फेरबदल भएको नपाइएपछि कारबाही गरिएको हो।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टका अनुसार उक्त एपमा सुरुको गन्तव्यमै सवारी चालकको फोटो, सवारी चालक अनुमति पत्रको नम्बर र सवारी साधनको नम्बर अपलोड गरेपछि नागढुंङगा नाकासहित सातै वटा प्रदेशका १५ ओटा स्थानमा रहेको चेक प्वाइन्टमा डाटा सर्कुलर भएका आधारमा चालक फेरबदल भए-नभएको एकिन गर्ने गरिन्छ।

२०७५ माघ २८ गतेबाट सुरु भएको यो चेकिङ केही समय, सञ्चालनपछि कोभिडलगायत अन्य विविध कारणले रोकिएकोमा पुनस् २०७९ असोज ३१ गतेबाट सुरुवात गरे पश्चात् दुई महिनाको अवधिमा ४१ ओटा सवारी साधनका चालक कारबाहीमा परेका हुन्।