भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा चन्द्रागिरि-२ बस्ने सुवेदीको मृत्यु, ठक्कर दिएर फरार चालक पक्राउ

काठमाण्डौ महानगरपालिका वडा नं १३ सोल्टीदोबाटोमा टाटा भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा चन्द्रागिरि नगरपालिका वडा नं २ बस्ने एक युवकको मृत्यु भएको छ ।

बुधबार १५:३२ बजे काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं १३ सोल्टिदोबाटो स्थित नेपाल ईन्भेष्टमेन्ट बैंक अगाडि सडकखण्डमा बा १७ च ४९०३ नं को टाटा भ्यान गाडिले बागमती प्रदेश ०२–०२८ प ७७२१ नं को मोटरसाइकललाई ठक्‍कर दिएको थियो।

उक्त ठक्करबाट मोटरसाइकलमा सवार चन्द्रागिरि नगरपालिका वडा नं २ ठेगाना भएका ३० वर्षीय को किशोर सुवेदी घाइते भएका थिए। उनको उपचारको क्रममा स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पताल बिहीबार मृत्यु भएको थियो।

मोटरसाइकललाई ठक्कर दिएर भागेका गाडी चालक पक्राउ परेका हुन् । प्रहरीका अनुसार मोटरसाइकलाई ठक्कर दिएर चालक फरार भएका थिए। सो घटनामा फरार रहेका गाडी चालक जिल्ला ओखलढुङ्गा सुनकोशी गाँउपालिका वडा नं. २ घर भई हाल काठमाण्डौ जिल्ला कागेश्‍वरी मनहरा नगरपालिका वडा न ५ डाँछी बस्ने वर्ष १९ को मन कुमार तामाङलाई प्रहरीले कागेश्वरी मनहरा नगरपालिका-५ डाँछीबाट बिहीबार पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अर्न्तगत सवारी ज्यान अपराधमा महानगरीय प्रहरी बृत्त स्वयम्भूबाट थप अनुसन्धान भइरहेको  छ।