चन्द्रागिरिकी दीपा पराजुलीले विवाह भएको ७ महिनामै किन गरिन आत्महत्या ?

काठमाडौं । चन्द्रागिरि नगरपालिका -२ चिसापानीमा २५ वर्षीया युवती विवाह भएको ७ महिनामा झुन्डिएको अवस्थामा फेला परेकी छन् । दीपा पराजुली सोमबार घर नजिकै बारीमा रहेको रुखमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

बलम्बु घर भएकी दीपा र चिसापानीका सुन्दर थापाबीच गत वैशाखमा प्रेम विवाह भएको थियो । विवाहपछि दाइजोको विषयमा निरन्तर मानसिक यातना दिइँदै आएकोले आत्महत्या गर्न बाध्य भएको माइती पक्षको आरोप छ।

चन्द्रागिरि नगरपालिका–१२ स्थित जम्बुटोल उनको माइती हो । दीपाका माइती पक्षले उनको हत्या भएको दाबी गरेका छन् । दीपाका श्रीमान् सुन्दर थापालाई ‘ज्यान सम्बन्धी कसुर’मा मुद्दा चलाउन माइती पक्षले माग गरिरहेका छन् ।

पैसाको लागी टर्चर दिएर सुन्दरले छोरीको हत्या गरेको दीपाका बुवा रत्नप्रसाद पराजुलीको दाबी छ । उनले भने–‘मेरी छोरीको हत्या भएको हो, निष्पक्ष अनुसन्धान गरेर कारबाही हुनुपर्छ ।’

दीपाका श्रीमान् सुन्दरलाई अनुसन्धानका लागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । प्रहरीले ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गर्न अस्वीकार गरेको मृतकका बुवाले बताए । घटनाबारे प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार दीपाको शरीरमा बाहिरी चोटपटक छैन । सलमा पासो लागेर झुन्डिएको अवस्थामा भेटिएकी उनको घाँटीमा डोब देखिएको छ । प्रहरीले आरोपीलाई आत्महत्या दुरुत्साहन मुद्दा चलाउने तयारी गरेको छ । तर, माइती पक्षले ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाउनुपर्ने माग राखेका छन् ।

आफ्नी छोरी रुख चढ्न नजान्ने र चप्पल लगाएरै झुन्डिएको हुनाले हत्या गरेर झुन्ड्याएको हुनसक्ने बुवा रत्नप्रसादले दाबी गरेका छन् ।

मृतक दीपाका आफन्तले घटनाको सत्य तथ्य छानबिन नभएसम्म शव नबुझ्ने अडान लिएका छन्। आफन्तले बुधवार अपराह्न ५ बजे त्रिभुवन राजमार्ग अवरुद्ध पारेका थिए। चन्द्रागिरि नगरपालिकाको गुर्जुधारमा उनीहरूले दोषीमाथि हदैसम्मको कारबाहीको माग गर्दै सडक अवरुद्ध पारेका थिए ।