पहिरो निरिक्षण गर्न जलस्रोत मन्त्रालयको टोली चन्द्रागिरिमा, वर्षाबाट दशक यताकै ठूलो क्षति

अघिल्लो साता परेको अविरल वर्षाका कारण चन्द्रागिरि नगरपालिकाका धेरै स्थानमा भौतिक क्षति पुगेपछि त्यसको थप अध्ययन गर्न सङ्घीय सरकारको टोली प्रभावित स्थानमा आएको छ ।

चन्द्रागिरि-२ को माथिल्लो मसिने, तल्लो मसिने र ढुङ्गेनीमा बढी नोक्सान भएको नगरको वातावरण तथा विपद् व्यवस्थापन शाखाकी कर्मचारी भद्रा अर्यालले बताउनुभयो । उहाँका अनुसार “इन्द्रथान जाने सडक र कङ्काली माध्यमिक विद्यालयको आवसीय भवन परिसरमा सर्वाधिक क्षति भएको छ”।

निरीक्षणमा उनीसहित जलस्रोत तथा ऊर्जा मन्त्रालयका प्राविधिकहरु सहभागी थिए । कंकाली माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद पनेरुले आवासीय भवन पछाडिको करिब ७५ फिट जमिन भासिँदा भवन नै जोखिममा परेको बताउनुभयो । “थप क्षति हुन नदिन तत्काल घेराबारा लगाउनुपर्ने स्थिति छ”, उहाँले भन्नुभयो ।

नगरपालिका-१३ र १५ मा डेढ सयभन्दा बढी घर डुबानमा परेको पनि अर्यालले जानकारी दिनुभयो । खासगरी खोला किनारका बस्तीहरुमा १७ वर्षयताकै सर्वाधिक ठूलो बाढी आएका कारण यस्तो डुबान भएको उहाँको भनाइ छ राससमा खबर छ । पानीले घना रूखबिरुवा भएका स्थानहरुमा समेत पहिरो गएका र कतिपय पहिराको सम्भावना नभएका बस्तीमा समेत घर जोखिममा पर्ने गरी पहिरो गएको उहाँले बताउनुभयो ।

नगरपालिकाको एक महत्पूर्ण पर्यटकीय स्थल इन्द्रथान जाने बाटोका दर्जनौँ स्थानमा पहिरो गएको र खुलाउनका लागि डोजर प्रयोग गरिएको छ। “आजसम्म पनि सबै स्थानको पहिरो पन्छाउन सकिएको छैन् । डोजरको सहायताले आवागमन खुलाउन खोजिरहेका छौँ”, अर्यालले भन्नुभयो ।

२१ असोजमा मसिनेमा पहिरो जाँदा एकै घरका तीन जनाको मृत्यु भएको थियो । नगरपालिकाले मृतकका परिवारलाई काजकिरिया खर्च एवं तत्कालीन राहतका रूपमा तत्कालै रु. ५० हजार दिने नगर प्रमुख घनश्याम गिरीले घोषणा गर्नुभएको थियो ।

तस्बिर:- आर्यन धिमाल