
काठमाण्डौको चन्द्रागिरीको जंगलबाट तीन जना विदेशी नागरिकको उद्धार भएको छ । एक जना अमेरिकी र दुई भारतीयहरुलाई नेपाल प्रहरीको उद्धार टोलीले जङ्गलस्थित थानकोट–चित्लाङ सडकखण्डको १०० मिटर तल भिरमा फसेको अवस्थाबाट उद्धार गरेको हो।
प्रहरीका अनुसार, घुम्नका लागि चन्द्रागिरीको जंगलतिर हिडेका अमेरकी नागरिक डग्लस रो तथा भारतीय नागरिक नवप्रित डिलोन र माधव गुप्ता बाटो भुलेर जंगलमा फसेका थिए । बिदेशी नागरिकहरु जंगलमा हराएको सुचना शनिबार पाए पछि तत्काल प्रहरी बृत्त थानकोटबाट खटिएको उद्धारकर्मीहरुको टोलीले उनीहरुलाई उद्धार गरेको बताइएको छ।
बिदेशी नागरिक हराएको खबरपछि आवश्यक टर्च, डोरी, स्ट्रेचर लगायतका सामाग्रीसहित १० जनाको प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता उमेशराज मैनालीले जानकारी दिए ।
उनीहरुलाई रेस्क्यु रोपलगायतको प्रयोग गरी सुरक्षित साथ उद्दार गरी रातिनै साथीहरुको जिम्मा लगाइएको उनले बताए ।