चन्द्रागिरिले वैठक चियापान, सरसफाइ आदिमा सबै वडा कार्यालयलाई झन्डै २ करोड खर्च गरे

काठमाडौं, साउन १८ गते । महालेखा परीक्षकको कार्यालय वार्षिक प्रतिवेदन २०७७ र २०७८ अनुसार चन्द्रागिरि नगरपालिकाले १ देखि १५ वडा कार्यालयलाइ जिन्सी सामान खरिद, वैठक चियापान, कार्यालय व्यवस्थापन, संचार, घरभाडा, सरसफाइ लगायतका कार्यका लागि नगरपालिकाले झन्डै २ करोड खर्च गरेको छ ।

नगरपालिकाले प्रत्येक वडा कार्यालयलाई आर्थिक बर्ष २०७५/७६ मा मासिक रु.५०,००० का दरले  १५ वडामा बर्षभरीमा रु ९० लाख र आर्थिक बर्ष २०७६/७७ मा मासिक रु.६०,००० का दरले १५ वडामा बर्षभरीमा रु १ करोड ८ लाख भुक्तानी दिएको छ । नगरपालिकाले २ बर्षमा वडा कार्यालयलाई १ करोड ९८ लाख खर्च गरेको पाएको छ ।

वडा कार्यालयसँग सम्बन्धित खर्चहरु.नगर कार्यपालिकाबाट भुक्तानी भईरहेको अवस्थामा वडा कार्यालयबाट जिन्सी सामान खरिद, वैठक चियापान, कार्यालय व्यवस्थापन, संचार, घरभाडा, सरसफाइ लगायतका कार्यमा खर्च भएका छन्‌ ।

यसरी वडागत रुपमा खर्च गर्दा जिन्सी विवरण अद्यावधिक नभएको, वडा कार्यालयको खर्चमा एकरुपता नदेखिएको
तथा नगरपालिका र वडा कार्यालयबाट एउटै काममा दोहोरो खर्च हुन सक्ने जोखिम समेत देखिएकाले दुई निकायबाट खर्च गर्ने परिपाटी नियन्त्रण गरी खर्चमा एकद्वार पद्धति कायम गर्न ध्यान दिनुपर्ने महालेखाले नगरपालिकालाइ सचेत गराएको छ।