नैकापस्थित कंकाली माविलाई ३ लाख राशीको जीवन विकास पुरस्कार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दीगो विकासका लागि विभिन्न संस्था र व्यक्तिलाई जीवन विकास पुरस्कार, २०७७ अन्तर्गत पुरस्कार र प्रोत्साहन प्रदान गरेकी छन् ।



jibss

जीवन विकास समाजले पहिलोपटक प्रदान गरेको दिगो विकासका लागि जीवन विकास पुरस्कार २०७७ अन्तर्गतको सामुदायिक विद्यालय वा शैक्षिक संस्था तर्फको पुरस्कारबाट काठमाडौं चन्द्रागिरि स्थित कंकाली माध्यमिक विद्यालय सम्मानित भएको छ ।

दिगो विकास लक्ष्य ४, समावेशी र समतामूलक गुणस्तरीय शिक्षाको सुनिश्चितता तथा सबैका लागि जीवन पर्यन्त शिक्षाको प्रवर्द्धन गर्न उल्लेखनीय योगदान गरे वापत कंकाली माविलाई जीवन विकास समाजले सम्मान गरेको हो।

समाजले शुक्रबार शितल निवासमा आयोजना गरेको पुरस्कार वितरण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले विद्यालयका प्रधानाध्यापक विष्णु पनेरुलाई ३ लाख नगद र प्रमाणपत्रबाट सम्मानित गरेकी हुन्।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो । राष्ट्रपति भण्डारीले शैक्षिक संस्था विधातर्फ रीड नेपाल ललितपुर, शैक्षिक संस्था विधातर्फ कङ्काली मावि चन्द्रागिरि, काठमाडौँ, शिक्षक मासिक ललितपुर र नारी विकास सङ्घ, मोरङलाई प्रोत्साहन पुरस्कार प्रदान गरेकी छन् ।

यस्तै बाल संरक्षण संस्था, सर्लाही, जनज्योति मावि कमलामाई, सिन्धुली, आदर्श मावि।, मेचीनगर, झापा, सुदर्शन सिग्देल (आजको शिक्षा साप्ताहिक) र रुवी रौनियार (नागरिक दैनिक)लाई पनि प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ ।

सामाजिक संस्थालाई रु तीन लाख, शैक्षिक संस्था विधातर्फ रु तीन लाख र पत्रकारलाई रु दुई लाख पुरस्कार प्रदान गरिएको छ । प्रोत्साहनतर्फ ती विधामा क्रमशः रु एक लाख र रु ५० हजार प्रदान गरिएको पुरस्कार निर्देशक समितिका सचिव ओम शर्मा चापागाईँले जानकारी दिए ।