२३ दिन पैदल हिँडेर आईपुगेका मिटरब्याज पीडितहरूको त्रिभुवन पार्कमा भिजेर विजोग

पूर्वको काँकडभित्ता पश्चिमको महेन्द्रनगरबाट २३ दिन हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितको बिचल्ली भएको छ।

काठमाडौंको थानकोटमा रहेको त्रिभुवन पार्कको खुला चौरमा आश्रय लिइरहेका मिटरब्याज पीडित पानी पर्न थालेसँगै थप कष्ट भोग्न बाध्य भएका छन्।

उनीहरू बुधबार काठमाडौं छिरेका थिए। २३ दिनमा १ हजार १ सय ७५ किलोमिटर यात्रा गरेका उनीहरू थकित, उदास र निरास छन्।

सरकारले मिटरब्याज पीडितसँग गरेको सम्झौता लागू नगरेको भन्दै उनीहरू फेरि न्याय खोज्दै काठमाडौं आएका हुन्। यसअघि पनि उनीहरूले काठमाडौंमा आन्दोलन गरेका थिए। त्यसपछि सरकारले गत चैतमा यसको जाँचबुझ गर्न आयोग बनायो।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको आयोगले आठ महिना अध्ययन गरेर सुझाव र निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाइसकेको छ।

प्रतिवेदनअनुसार यस अवधिमा आयोगमा परेका करिब २८ हजार उजुरीमध्ये पाँच हजारमा मिलापत्र भइसकेको छ। बाँकी २३ हजार उजुरीको छिनोफानो गर्ने जिम्मा राज्यको काँधमा छ। तर आयोगले सिफारिस गरे पनि आफूहरूको माग सम्बोधन नभएको भन्दै उनीहरू फेरि काठमाडौं आएका हुन्।

साभार :- सेतोपाटि