
चन्द्रागिरि।
नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी स्पाइकर प्रतिभा माली माल्दिभ्समा भएको राष्ट्रिय भलिबल प्रतियोगिताको विदेशी खेलाडीतर्फ सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी छिन् भने माली चन्द्रागिरि नगरपालिका वडा नं. १५ बासिन्दा पनि हुन् ।
माल्दिभ्सको राष्ट्रिय भलिबल प्रतियोगितामा क्लब वेम्कोलाई च्याम्पियन बनाउन उनले सानदार प्रदर्शन गरेकी थिइन् । उनी फाइनल खेलमा प्लेयर अफ दि म्याच समेत बनिन् । उनले ट्रफी हात पारिन् ।
प्रतिभा २०७३ मा पनि विदेशीतर्फ सर्वाेत्कृष्ट बनेकी थिइन् । यसपालीको प्रतियोगितामा नेपालसहित फिलिपिन्स, भारत, श्रीलंका र थाइल्यान्डको खेलाडीले प्रतिस्पधा गरेका थिए ।
माल्दिभ्सस्थित सोसल सेन्टर इन्डोर हलमा शुक्रबार राति भएको खेलमा वेम्कोले क्लब भलिबललाई ३–१ को सेटमा हराएर उपाधि जित्न सफल भएको थियो । वेम्कोले क्लब भलिबललाई २५–११, २२–२५, २५–१९ र २५–१४ को सेटमा पराजित गर्न सफल भयो ।
यससँगै वेम्कोले लिग चरणमा भोगेको हारको बदला लिएको छ । वेम्को लिग चरणमा ३–१ को सेटमा पराजित भएको थियो । वेम्को पछिल्लोपटक सन् २०१९ मा पुलिससँग फाइनलमा पराजित भएको थियो । त्यसबेला प्रतिभाले पुलिसबाट खेलेकी थिइन् ।
माल्दिभ्समा प्रतिभाको यो चौथो उपाधि हो । यसअघि प्रतिभाले सन् २०१६ र २०१७ मा मस्जिद रोड टोलीसँग र २०१९ मा पुलिसबाट उपाधि जितेकी थिइन् ।
वेम्कोकी ऐशाथ माजिदा सर्वाेत्कृष्ट खेलाडी घोषित भइन् । उनी उत्कृष्ट आउटसाइड हिटर पनि बनिन् । अपोजिट हिटरमा क्लब भलिबलकी सानिया अहमद मिजा, मिडल ब्लकरमा क्लब भलिबलकी नारिमा एद्रिस, सेटरमा वेम्कोकी फादमत दुसा अन्सारी र क्लब भलिबलकी साइहा महम्मद उत्कृष्ट लिवेरो घोषित भइन् । प्रोमिसिङ खेलाडीमा क्लब भलिबलकी फादमत लिवा हुसेन र वेम्कोकी ऐइसा नजिमा उत्कृष्ट प्रशिक्षक घोषित भइन् ।
गत शनिबारबाट सुरु भएको राष्ट्रिय भलिबल प्रतियोगितामा साविक विजेता पुलिस क्लब, क्लब वेम्को, क्लब एगल्स क्लब र क्लब भलिबल गरी चार टोलीले प्रतिस्पर्धा गरेका थिए । सुबास हुमागाईं (हाम्रो खेलकुद)