काठमाडौं उपत्यकाभित्र सबैभन्दा धेरै घरजग्गा थानकोट र दहचोक क्षेत्रमा किनबेच

चन्द्रागिरि ।

आर्थिक वर्ष ०७९/८० मा काठमाडौं उपत्यकाभित्र ४६ हजार ५ सय ६३ घरजग्गा किनबेच भएका छन् ।

चक्रपथभित्र घरजग्गाको मूल्य चर्किसकेको हुँदा उपत्यका वपरिपरिको काँठ क्षेत्रमा धेरै घरजग्गा किनबेच भइरहेको भूमि व्यवस्थापन विभागको तथ्यांकले देखाउँछ ।

अब चक्रपथभित्र खाली जग्गा भेट्याउन मुस्किल पर्न थालेको छ । तर, रिङरोडबाट ६-७ किलोमिटर बाहिर निस्कँदा खाली जग्गा भेटिन्छ । र, मूल्य पनि तुलनात्मक रुपमा कम पर्छ ।

भूमि विभागको तथ्यांक केलाउँदा सबैभन्दा बढी घरजग्गा कलंकी मालपोत अन्तर्गत पर्ने थानकोट, दहचोक, स्यूचाटार, किर्तिपुर हुँदै दक्षिणकालीसम्म किनबेच भइरहेका छन्  ।

एक वर्षमा कलंकी मालपोतबाट आठ हजार ४२ घरजग्गाको लिखत पारित भएका छन् ।

आर्थिक वर्षको पहिलो महिना साउनमा काठमाडौं उपत्यकामा रहेका नौवटा मालपोत कार्यालयबाट तीन हजार २१६ घरजग्गा किनबेच भएका थिए । यस्तै, भदौमा चार हजार तीन सय, अशोजमा दुई हजार ७६१, कार्तिमा दुई हजार ७७९, मंसिरमा तीन हजार १९५, पुसमा तीन हजार ६९२ घरजग्गाको लिखत पारित भएको छ नेपाल होम्समा खबर छ ।

यस्तै, माघमा चार हजार १९५, फागुनमा चार हजार ३५९, चैतमा चार हजार ६१८, वैशाखमा तीन हजार ६८३, जेठमा चार हजार ७३५ र असारमा पाँच हजार ३० घरजग्गाको लिखत पारित भएको भूमि व्यवस्थापन विभागले जनाएको छ ।