चन्द्रागिरिमा ट्रान्सफर्मर चोरी गर्दै गरेको अवस्थामा १ जना पक्राउ

काठमाडौँ । चन्द्रागिरि नगरपालिका वडा नं ११ स्थित सामसुङ टीभी कारखानाको कम्पाउन्डमा राखिएको विद्युत्‌को ट्रान्सफर्मर चोरी गर्दै गरेको अवस्थामा धादिङ गल्छि गाउँपालिका-८ घर भएका ४३ वर्षीय नारायण थापालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

असोज २ गते राति थापा लगायत ४ जनाले उक्त ट्रान्सफर्मर चोरी गरी हिँड्न लागेको अवस्थामा स्थानीय बासिन्दाहरु नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरी तलासी गर्दा १ थान फलाम काट्ने कटर, १ थान पेन्चिस थान, १ थान फलामको डण्डी, १ थान स्क्रुड्राईभर, ११ थान बिभिन्न साईजको रेन्ची, २ थान कपडाको सल, ३ थान प्लाष्टिकको बोरा, १ थान ट्रान्सफर्मर र १ थान ट्रान्सफर्मर तान्न प्रयोग भएको रवरको फिता डोरी सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

चोरीमा संलग्न हाल फरार अन्य ३ जनाको खोजी गरिरहेको छ । थापा उपर मुलुकी फौजदारी अपराध संहिता, २०७४ बमोजिम थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।