चन्द्रागिरि ।
जेसिस इन्टरनेशनल बोर्डिङ सेकेन्डरी स्कुल चन्द्रागिरि नगरपालिका, सतुंगल ले २०७३ सालको एस. ई. ई. मा सफलता हासिल गरेका विद्यार्थी, उत्कृष्ट शिक्षक, कोरियाको मुजुमा १३ देखि १८ जुलाइसम्म भएको ११ औँ वल्र्ड तेक्वान्दो कल्चरल एक्स्पोमा विजयी खेलाडी र अभिभावक तथा प्रशिक्षकलाई एक कार्यक्रमका बीच सम्मान गरेको छ ।
चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीको प्रमुख आतिथ्यता तथा वडा नं. ११ का अध्यक्ष हरिभक्त महर्जनको विशेष आतिथ्यमा स्थानीय सतुंगल पार्टी प्यालेसमा शनिबार सम्पन्न भएको कार्यक्रममा शुभकामना मन्तव्य तथा विद्यालय गतिविधि प्रस्तुत गर्दै विद्यालयका प्रिन्सिपल सरोज महर्जनले जेसिसले प्राप्त गरेको सफलतामा सम्पूर्ण अभिभावक, शिक्षक शिक्षका, विद्यालय व्यवस्थापन समिति तथा कर्मचारीहरुको योगदान भएको धारणा राख्दै आगामी दिनमा जेसिसले शिक्षासँगै अन्य विविध क्रियाकलापहरुलाई जोड्दै अन्तर्राष्ट्रिय स्तर शिक्षा दिन कुनै कसर बाँकी नराख्ने बताए ।
प्रमुख अतिथि घनश्याम गिरीले सोही समारोहमा जेसिस एपको उद्घाटन गर्दै शिक्षा, खेलकुद, कृषि र सूचना प्रविधिलाई एकैसाथ लान सक्नु जेसिसको उदाहरणीय कार्य भएको बताउँदै चन्द्रागिरी नगरपालिकाका संस्थागत विद्यालयहरुले एक्काइसौँ शताब्दी अनुकूल शिक्षा प्रदान गर्न सफल रहेको बताए ।नगरप्रमुख गिरीले अबका एस. ई.ई. ग्य्राजुयटहरुले आफूले लिएको शिक्षा युरोप, अमेरिकामा प्रयोग गर्ने वातावरणको अन्त्य गर्दै हाम्रै गाउँ ठाउँको विकासमा लगाउने अवसर निर्माण गर्न आफूले योजना तथा नीति बनाएको धारणा राखेका थिए । विशेष अतिथि हरिभक्त महर्जननले आफूले विदाई गरेर पठाएका खेलाडीहरुले पदक जितेर जेसिस स्कुल तथा चन्द्रागिरी न. पा.को मात्र नभई समग्र नेपालको शिर उच्च राखेको स्मरण गर्दै सम्पूर्ण विजयी खेलाडी तथा एस. ई. ई. ग्याजुयटहरुलाई बधाई ज्ञापन गर्दै स्कुलले अायोजना/सञ्चालन गरेका गतिविधिहरु प्रशंसनीय र उदारणीय रहेको धारणा व्यक्त गरेका थिए ।
कार्यक्रमका सभाध्यक्ष, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रराज श्रेष्ठले यो शैक्षिक सत्रका लागि जेसिसले विजयी खेलाडीहरुमध्ये स्वर्ण पदक विजेतालाई शतप्रतिशत, रजत पदक विजेतालाई पचास प्रतिशत तथा कास्य पदक विजेतालाई २५ प्रतिशत मासिक शुल्कमा प्रोत्सान स्वरूप छुट दिने घोषणा गरे । साथै श्रैष्ठले जिब्स स्कुल एप प्रयोग गरी पेपरलेस वर्क गर्न सहयोग गर्ने अभिभावहरुलाई मासिक शुल्कमा केही छुट गर्ने व्यवस्था गरिएको जानकारी दिए ।