ब्राइट एन्जल्स इंग्लिश स्कूलले जित्यो इन्टर स्कूल तीज नृत्य प्रतियोगिता

चन्द्रागिरि, श्रावण ३० – ब्राइट एन्जल्स इंग्लिश स्कूल (Bright Angels’ English School) ले निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) चन्द्रागिरि नगर कार्यसमितिद्वारा आयोजित इन्टर स्कूल तीज नृत्य प्रतियोगिता–२०८२ मा प्रथम स्थान हासिल गर्दै उत्कृष्टता प्रदर्शन गरेको छ। प्रतियोगिता सतुङ्गलस्थित आगन रिसेप्सनमा भव्य रूपमा सम्पन्न भएको हो।

चन्द्रागिरि क्षेत्रका विभिन्न ११ वटा निजी तथा आवासीय विद्यालयहरूको सहभागीता रहेको उक्त प्रतियोगितामा विद्यार्थीहरूले नेपाली मौलिक तीज संस्कृतिमा आधारित गीतमा नृत्य प्रस्तुत गरेर दर्शकहरूको मन जितेका थिए। प्रतियोगितामा ब्राइट फ्युचर सेकन्डरी स्कूल (Bright Future Secondary School) ले दोस्रो स्थान हासिल गरेको छ भने जेसिज इन्टरनेशनल बोर्डिङ सेकन्डरी स्कूल (Jesse’s International Boarding Secondary School) तेस्रो स्थानमा रहन सफल भएको हो।

अन्य सहभागी विद्यालयहरूमा माउण्ट सगरमाथा ब्रिलियन्ट एकेडेमी, गोल्डेन फ्लावर गार्डेन स्कुल, ज्ञान सुधा एकेडेमी, बेसिक लर्निङ्ग इङ्लिस सेकन्डरी स्कुल, सनसाइन स्कुल, हाई न्यू भिजन एकेडेमी, प्याराडाइज रिडर्स एकेडेमी तथा रोडोडेन्ड्रोन इन्टरनेशनल बोर्डिङ स्कुल (RIBS) रहेका थिए।

कार्यक्रममा नगर उपमेयर बसन्ती श्रेष्ठ, शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत सुजन राज खनाल तथा श्री बुद्धि प्रसाद भट्ट (बरिष्ठ शाखा अधिकृत, शिक्षा युवा तथा खेलकुद शाखा) उपस्थित थिए। साथै प्रतियोगितामा शिक्षक र विद्यार्थीहरूको पनि ठूलो सहभागिता रहेको थियो, जसले कार्यक्रमलाई थप उल्लासपूर्ण बनाएको थियो।

कार्यक्रममा सहभागी सबै विद्यालयहरूलाई प्रमाणपत्र तथा सम्मान प्रदान गरिएको थियो। यस प्रतियोगिताले विद्यार्थीहरूमा सांस्कृतिक चेतना अभिवृद्धि गर्नुका साथै आत्मविश्वास र प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको प्याब्सन चन्द्रागिरि नगर समितिका अध्यक्ष सरोज महर्जनले जानकारी दिए।