
काठमाडौं: निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), काठमाडौं जिल्ला कार्यसमितिले एसईई २०८१ मा शतप्रतिशत नतिजा ल्याएकोमा ऋचा सह शिक्षा सदनलाई ‘एकेडेमिक एक्सिलेन्स अवार्ड-२०८१’ बाट सम्मान गरेको छ।
मिति २०८२ श्रावण २८ गते प्याब्सनले आयोजना गरेको एक विशेष कार्यक्रमका बीच शिक्षामन्त्री माननीय रघुजी पन्तले विद्यालयलाई उक्त सम्मान प्रदान गर्नुभएको हो। प्याब्सन काठमाडौंका अध्यक्ष नवराज भट्ट, वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक शंकरषर्ण थापा र सचिव कृष्ण भण्डारी लगायतको उपस्थितिमा सम्मान कार्यक्रम सम्पन्न भएको थियो।
सन् २०४७ मा स्थापित चन्द्रागिरी-१, काठमाडौंस्थित ऋचा सह शिक्षा सदनले राष्ट्रिय शिक्षाको गुणस्तरमा निरन्तर योगदान पुर्याएको भन्दै प्याब्सनले प्रशंसा गरेको छ। सम्मानित भएपछि विद्यालय प्रशासनले यो सफलता विद्यार्थी, शिक्षक र अभिभावक सबैको सामूहिक प्रयासको प्रतिफल भएको बताएको छ।
प्रमुख अतिथि मन्त्री पन्तले ऋचा सह शिक्षा सदनलाई बधाई दिँदै निजी विद्यालयहरूले राष्ट्रिय शिक्षा प्रणालीमा पुर्याएको योगदान महत्वपूर्ण रहेको बताउनुभयो। प्याब्सनले विद्यालयलाई यो उपलब्धिको लागि हार्दिक बधाई ज्ञापन गर्दै भविष्यमा पनि शैक्षिक उत्कृष्टता कायम राख्न शुभकामना दिएको छ।





