के हो कोलिफर्म? कसरी गर्छ हानी?

चन्द्रागिरि ।

आजभोलि झाडापखाला बढ्दै जाँदा पानीको गुणस्तर जाँचबारे चर्चा हुने गरेको पाइन्छ। पानीको गुणस्तर मापन गर्दा कोलिफर्म भन्ने शब्द सबैभन्दा बढी सुनिन्छ। कोलिफर्म देखिए पानी दूषित भएको र नदेखिए प्रयोग गर्न लायक भएको विश्लेषण हुने गर्छ। कोलिफर्म शब्द धेरै प्रयोग हुने भए पनि अधिकांशलाई कोलिफर्म के हो भन्ने जानकारी नहुन सक्छ।

कोलिफर्म के हो?

कोलिफर्म बाहिरी वातावरणमा रहेको पानी, मानिस वा तातो रगत भएका जनावरका दिसामा पाइने गर्छ। यो एक दर्जनभन्दा बढी ब्याक्टेरियाको समूह हो। यदि कुनै पानीमा कोलिफर्म भेटिए, त्यसमा ढलको पानी मिसिएको भनेर बुझ्न सकिन्छ। तर, यसमा हुने धेरैजसो ब्याक्टेरियाले मानव स्वास्थमा उल्लेख्य हानी पुर्‍याउँदैन। यसलाई सामान्यतः तीन स्तरमा छुट्याएर हेरिन्छ र यसैका आधारमा स्वास्थ्य जोखिम पनि छुट्याइन्छ।

१. टोटल कोलिफर्म: यसले कोलिफर्मको समूहलाई बुझाउँछ। यसले आफूले प्रयोग गर्ने पानी फोहोर मिसिएको संकेत गर्छ।

२. फेकल कोलिफर्म: यसले पानीमा जनावर वा मानिसको दिसा मिसिएको संकेत गर्छ। टोटल कोलिफर्मभन्दा यसको उपस्थितिले मानिसको स्वास्थ्यमा हानी गर्न सक्ने सम्भावना बढी हुन्छ।

३. इकोलाई: फेकल कोलिफर्मको उपसमूहका रुपमा ‘इकोलाई’लाई लिने गरिन्छ। पानी पिउनका लागि अयोग्य भएको संकेतका रुपमा यसलाई सबैभन्दा भरपर्दो रुपमा लिने गरिन्छ। धेरैजसो इकोलाईका प्रजातिहरू हानिकारक हुँदैनन्। तर, कहिलेकाहीँ बान्ता, पखाला, टाउको दुख्ने र मांशपेशी बाउँडिने हुन सक्छ।

नेपालमा कोलिफर्मबारे व्यापक चर्चा हुने गरे पनि कुन स्तरको हो भनेर वर्गीकृत गर्ने गरेको पाइँदैन। केही अनुसन्धानहरुमा भने वर्गीकृत गरी अध्ययन गरिएका छन्। कोलिफर्मको मात्रा जति बढी हुन्छ स्वास्थका लागि उति जोखिम रहन्छ भनेर बुझ्नुपर्ने हुन्छ।

(डा. पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन्)

स्वास्थ्य खबर पत्रिकाबाट ।