चन्द्रागिरिको विष्णुदेवी माविको भवनको उद्घाटन

काठमाडौं : भारत सरकारको अनुदान सहयोगमा काठमाडौंको चन्द्रागिरीमा  निर्माण गरिएको विष्णुदेवी माध्यमिक विद्यालयको भवन उद्घाटन गरिएको छ।

भारतको ७७औं स्वतन्त्रता दिवसका अवसरमा नवनिर्मित विद्यालय भवनको आज उद्घाटन गरिएको हो। भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशल, चन्द्रागिरि नगरपालिकाका वडाध्यक्ष घनश्याम लुईटेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्र बहादुर सुवेदी र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना निर्देशक डिल्लीराम लुईटेलले संयुक्त रूपमा उद्घाटन गरे।

नेपाल सरकारको भूकम्प उत्थानशील पुनर्निर्माण मापदण्ड अनुरूप करिब ६.९ करोड लागतमा यस विद्यालय भवनको निर्माण गरिएको हो। भवनमा दुई वटा ब्लक रहेका छन् जसमा १३ वटा कक्षाकोठा, प्रशासनिक कक्ष, पुस्तकालय, बहुउद्देश्यीय हल, प्रयोगशाला आदि रहेका छन्।

यसमा  बालमैत्री, लैङ्गिकमैत्री र अपाङ्गमैत्री भूकम्प प्रतिरोधी संरचनाले निर्माण गरिएको छ। यो विद्यालय भूकम्पपछिको पुनर्निर्माणका लागि भारत सरकारले उपलब्ध गराएको अनुदान रकम ५० मिलियन अमेरिकी डलरअन्तर्गत नेपालका ८ जिल्लामा निर्माण भइरहेका ७१ शैक्षिक संस्थामध्येकै एक हो।

७१ शैक्षिक संस्थामध्ये ६५ वटा विद्यालयको निर्माण सम्पन्न भइसकेको छ भने बाँकी ६ वटा सम्पन्न हुने चरणमा छ।

अन्नपूर्ण पोस्टबाट