काठमाडौँ महानगरका विद्यालयहरु असोज १० गते बाट भौतिक रुपमा खुल्ने

काठमाण्डौ ,असोज ७। काठमाडौँ महानगरपालिका भित्रका स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालयले १० असोजदेखि भौतिक रूपमा विद्यार्थीलाई उपस्थित गराएर पठनपाठन गर्ने सक्ने भएका छन् । महानरपालिकाको शिक्षा समितिले १० असोजदेखि विद्यालय खोल्न दिने निर्णय गर्दै विद्यालय सञ्चालन गर्दा न्यूनतम रूपमा पालना गर्नुपर्ने २७ बुँदे मापदण्ड जारी गरेको छ।

विद्यालय सञ्चालन गर्न तोकिएका मापदण्डको पूर्णपालना गर्ने गराउने विषयमा शिक्षा विभागले अनुगमन गर्नेछ । शिक्षा अधिकारी रामप्रसाद सुवेदीका अनुसार विद्यालयले कक्षा सञ्चालन विस्तृत कार्ययोजना बनाएर शिक्षा विभागमा पेस गर्नुपर्नेछ ।

समा भौतिक दुरी कायम गर्ने गराउने, मास्क लगाउने, हात धुने, ज्वरो मापन गर्ने, सामुहिक क्रियाकलाप नगराउने, खाजा घरबाटै लैजाने जस्ता विषयलाई मापदण्डमा कार्यान्वय योजना हुनुपर्नेछ ।

विद्यालय सञ्चालन गर्दा पालना गर्नुपर्ने न्यूनतम २७ बुँदे मापदण्डहरू

१. विद्यालय सञ्चालन गर्नुपूर्व अभिभावक, शिक्षक अभिभावक संघ र सम्बन्धित् वडासमेतका सरोकारवालाको सहभागितामा विद्यालय व्यवस्थापन समितिको बैठक बसी आपसी सहमति र समझदारीमा मात्र भौतिक रूपमा विद्यालय सञ्चालन गर्ने गराउने व्यवस्था मिलाउने

२. विद्यालयहरूले विद्यालय सञ्चालनको विस्तृत कार्ययोजना बनाइ अनिवार्य रूपमा शिक्षा विभागमा पेस गर्ने

३. विद्यालयमा विद्यार्थीहरूको सम्पर्कमा रहने शिक्षक, कर्मचारी, चालक, सहचालकलगायत सबैले खोप लगाएको सुनिश्चित गर्ने । यदि खोप लगाउन कोही बाँकी भए तुरुन्त काठमाडौँ महानगरपालिकाको जनस्वास्थ्य विभागमा सम्पर्क राखी खोप लगाउने

४. विद्यालय सञ्चालन पूर्व विद्यालय परिसर र कक्षा कोठाको पूर्ण सरसफाइको सुनिश्चितता गर्ने

५. विद्यालयको भौतिक अवस्था, विद्यार्थी संख्या र उपलब्ध जनशक्तिका आधारमा एकै सिफ्ट वा फरक फरक सिफ्ट र दिनमा कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउने

६. विद्यालयको गेटमा र कक्षा कोठा बाहिर सेनिटाइजर वा साबुन पानीको प्रबन्ध गरी बेलाबेलामा हात धुने वा सेनिटाइज गर्ने व्यवस्था मिलाउने

७. विद्यालयको गेटमा नै थर्मल गन राखेर प्रत्येक दिन विद्यार्थी र कर्मचारीको ज्वरो परीक्षण गर्ने र ज्वरो नआएको एकीन गरेर मात्र भित्र पठाउने व्यवस्था मिलाउने

८. विद्यालयको गेट, कक्षा कोठा र शौचालयको प्रयोग गर्दा बालबालिकाहरू लाइनमा, पालैपालो दूरी कायम गरी निस्कने र पस्ने प्रबन्ध गर्ने

९. सबैजनाले अनिवार्य रूपमा मास्क लगाउने, जगेडा मास्क लिइ आउने र मास्क नलगाई आउने विद्यार्थीलाई विद्यालयले मास्क उपलब्ध गराउने व्यवस्था मिलाउने

१०. खाजा र पानीको प्रवन्ध विद्यार्थी स्वयंले घरबाट नै गर्न सूचित गर्ने

११. कक्षा कोठाको क्षमताका आधारमा भौतिक दूरी कायम हुने गरी मात्र विद्यार्थीहरूको बसाई व्यवस्थापन गर्ने

१२. प्रत्येक दिन कक्षा सुरु गर्नु पूर्व र कक्षा संचालन पश्चात विद्यालय परिसर र कक्षा कोठाहरू अनिवार्य रूपमा सेनिटाइज गर्ने व्यवस्था मिलाउने

१३. स्वास्थ्य समस्या भएका विद्यार्थी, शिक्षक र कर्मचारीहरूलाई विद्यालय नआउन जानकारी गराउने

१४. विद्यालयहरूले बालबालिकाहरूलाई हरेक दिन कक्षा सञ्चालन पूर्व १०÷१५ मिनेट स्वास्थ्य सतर्कताबारे सजग गराउने र मनोपरामर्श गरी उत्प्रेरणा प्रदान गर्ने

१५. विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र सम्बन्धित् वडाबाट नियमित रूपमा अनुगमन र समन्वय गर्ने व्यवस्था मिलाउने

१६. विद्यालयमा बच्चालाई स्वास्थ्य समस्या देखिएमा छुट्टै आइसोलेसन कक्षमा राख्ने व्यवस्था गर्ने, अभिभावकलाई खबर गर्ने र तुरुन्त नजिकको स्वास्थ्य संस्थामा लैजाने ब्यवस्था मिलाउने

१७. विद्यालयमा सामूहिक कार्यक्रम ÷सामूहिक प्रार्थना आदि नगराउने

१८. विद्यालयमा खाजा समयमा भीडभाड नहुने गरी आलोपालो गर्ने प्रवन्ध मिलाउने

१९. विद्यार्थीलाई आफ्ना पाठ््यसामग्री, पानीका बोतल, खाजा, झोलासहितका सामान आपूmले मात्र प्रयोग गर्न र साथीसँग साटासाट नगर्न सजग गराउने

२०. अभिभावकले नै बच्चा विद्यालयमा ल्याउने लैजाने कार्यलाई प्रोत्साहित गर्ने । सवारीसाधन प्रयोग गर्नुपर्ने अवस्थामा सामाजिक दूरी कायम हुने गरी सवारी साधनमा बस्ने ब्यवस्था मिलाउने

२१. विद्यालयमा स्वास्थ्य वा विज्ञान शिक्षकलाई कोभिड फोकल शिक्षक तोक्ने र हरेक कक्षामा नियमित अनुगमनका लागि विद्यार्थी मनिटरको व्यवस्था गर्ने ।

२२. विद्यालयमा स्वास्थ्य हेल्प डेस्क राख्ने

२३. सुरुका दिनमा माथिल्लो कक्षाबाट पठनपाठन थालेर गरेर क्रमशः तल्ला कक्षाहरू सञ्चालन गर्ने ब्यवस्था मिलाउने

२४. सुरुका दिनमा कक्षा सञ्चालन गर्दा केही कक्षा मात्र पठनपाठन गरी क्रमशः अवस्था हेरी कक्षाको संख्या बढाउदै लैजाने

२५. सबै विद्यार्थीहरूको भौतिक उपस्थितिमा पूर्णरुपमा कक्षा संचालन नहुञ्जेल चालु वैकल्पिक सिकाइलाई निरन्तरता दिने

२६. अचानक कुनै नयाँ परिस्थिति आइपरेमा महानगर शिक्षा विभागमा खबर गरी प्राप्त निर्देशनअनुसार गर्ने

२७. काठमाडौं महानगरपालिका, शिक्षा विभागमार्फत नियमित अनुगमनको व्यवस्था मिलाउने