एसईई भोलिदेखि, चन्द्रागिरिबाट १ हजार ६ सय २८ जनाले परीक्षा दिँदै, सबैभन्दा धेरै परीक्षार्थीहुने मंगलोदय, ब्राइट फ्युचर र पश्चिम विन्दु मावि

२०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारदेखि सुरु हुँदैछ। उक्त परीक्षा चैत १७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ। परीक्षामा सहभागी हुन देशभरिका पाँच लाख १६ हजार ५७७ जनाले आवेदन फाराम भरेका छन्। परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ।

यसै चन्द्रागिरि नगरपालिकाका विभिन्न ५२ वटा विद्यालयका १ हजार ६ सय २८ जना परीक्षार्थीहरूले मंगलोदय मावि, प्रभात मावि, रिब्स मावि, विष्णुदेवी शिक्षा सदन मावि र विद्यामन्दिर मावि गरि पाँच परीक्षा केन्द्रहरूमा परीक्षा दिनेछन् ।

मंगलोदय माविका १ सय ३ जना सबैभन्दा धेरै परीक्षार्थी परीक्षा दिँदैछन् भने ब्राइट फ्युचर मावि नैकापका १९ जना, पश्चिम विन्दु मावि (West point) का ९४ परीक्षार्थीले परीक्षा दिँदैछन् ।

पुरानो पाठ्यक्रमअनुसारको यो वर्ष अन्तिम परीक्षा हो। आगामी २०८० सालदेखि नयाँ पाठ्यक्रममा आधारित परीक्षा सञ्चालन हुनेछ। प्रदेशस्तरमा अनिवार्य विषयका प्रश्नपत्रको समानान्तर सेट तयार गरिएको छ। कठिनाइ स्तर एउटै भए पनि हरेक प्रदेशमा फरक प्रश्न सोधिने छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठले प्रश्नपत्र र उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा पठाइसकिएको जानकारी दिनुभयो। देशभर दुई हजार ३७ परीक्षा केन्द्र कायम गरिएका छन्।

नतिजा सुधार्न एक दिन बिदा

माध्यमिक शिक्षा परीक्षा (एसईई)मा अनिवार्य विज्ञान विषयको नतिजा उकास्न यस पटकदेखि एक दिन बिदा दिइएको छ। चैत २१ गते बिदा दिएर चैत २२ गते अनिवार्य विज्ञान विषयको परीक्षा सञ्चालन गरिने भएको छ। एसईईमा सबैभन्दा कमजोर नतिजा अनिवार्य अङ्ग्रेजी, गणित र विज्ञान विषयको रहने गरेको छ। त्यसबाहेक अनिवार्य नेपाली र सामाजिक शिक्षाको नतिजा पनि कमजोर नै मानिन्छ। अङ्ग्रेजी र गणितका लागि बिदा भए पनि विज्ञानका लागि परीक्षाको अघिल्लो दिन बिदा नहुँदा त्यसले नतिजामा असर पर्न गएको ठम्याइ राष्ट्रिय परीक्षा बोर्डको छ।

परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले एक दिन ‘ग्याप’ रहँदा विज्ञानको नतिजामा तुलनात्मक सुधार आउने तर्क गर्दै भन्नुभयो, “विज्ञानको नतिजा पनि त्यति सुखद छैन। एक दिन बिदा पाउँदा विद्यार्थीले अध्ययन गर्ने अवसर पाउनेछन्। त्यसो हुँदा नतिजामा केही सुधार देखिने अवस्था रहन्छ।”

२०७८ सालको एसईईमा विज्ञान विषयमा सबैभन्दा बढी विद्यार्थीले ‘सी ग्रेड’ प्राप्त गरेका थिए। गत वर्ष विज्ञानमा एक लाख छ हजार ५१३ जनाले ‘सी ग्रेड’ प्राप्त गरेका थिए।

त्यो वर्ष अङ्ग्रेजीमा सबैभन्दा बढी ८५ हजार ६४२ जनाले ‘सी ग्रेड’, गणितमा सबैभन्दा बढी एक लाख ८८ हजार ९४ जनाले ‘ई ग्रेड’ र नेपालीमा सबैभन्दा बढी एक लाख ४१ हजार ६५९ जनाले ‘सी प्लस ग्रेड’ हासिल गरेका थिए। २०७८ सालको एसईईमा अनिवार्य अङ्ग्रेजी विषयमा १५ हजार ३९९ जनाले ए प्लस, नेपालीमा एक हजार ८०४ जनाले ए प्लस, गणितमा चार हजार ९५१ जनाले ए प्लस र विज्ञानमा आठ हजार ६५८ जनाले ए प्लस ग्रेड ल्याएका थिए।

२०७७ सालमा अनिवार्य विज्ञान विषयमा सबैभन्दा बढी एक लाख ३७ हजार ९२७ जनाले बी प्लस, गणितमा सबैभन्दा बढी एक लाख तीन हजार ९९३ जनाले सी प्लस र अङ्ग्रेजीमा सबैभन्दा बढी एक लाख ३१ हजार ९३३ जनाले बी प्लस ग्रेड ल्याएका थिए। २०७६ सालको एसईईमा विज्ञानमा सबैभन्दा बढी एक लाख १० हजार २६३ जनाले सी प्लस, गणितमा सबैभन्दा बढी एक लाख १३ हजार १९० जनाले सी र अङ्ग्रेजीमा सबैभन्दा बढी एक लाख चार हजार ९२१ जनाले सी प्लस ग्रेड प्राप्त गरेका थिए।

राष्ट्रिय परीक्षा बोर्डका सदस्य तथा सरस्वती निकेतन मावि ब्रह्मटोलका प्रधानाध्यापकसमेत रहनुभएका विज्ञान शिक्षक रविना महर्जनले अनिवार्य विज्ञान विषयमा पनि विद्यार्थी कमजोर रहेकाले आफूहरूले एक दिन बिदाको व्यवस्था गरिदिन अनुरोध गरेको बताउनुभयो।

“एक दिन बिदा दिइएकाले विद्यार्थी पनि खुसी भएका छन्। राहत पनि मिलेको छ,” उहाँले थप्नुभयो, “परीक्षाको उद्देश्य उत्तीर्ण गराउने हो, तर्साउने होइन। त्यसैले एक दिन बिदा दिँदा नतिजामा सुधार आउन सक्छ कि भनेर प्रयोग गर्न खोजिएको पनि हो। यसलाई सकारात्मक रूपमा लिनुपर्छ।”

विज्ञान विषयका शिक्षक तथा पाठ्यपुस्तक लेखक जयप्रकाश श्रीवास्तवले विज्ञान विषयको परीक्षाका लागि एक दिन बिदा दिँदा विद्यार्थीले सरसर्ती ‘रिभिजन’ गर्न पाउने भए पनि त्यसकै कारण नतिजामा व्यापक सुधार हुने तर्कसँग सहमत हुन नसकिने बताउनुभयो। “मूल्याङ्कन प्रणाली नै कमजोर छ, ग्रिडअनुसार प्रश्नपत्र सोधिँदैन,” उहाँले भन्नुभयो, “विज्ञानमा पनि घोक्ने बानी छ। विगतका तुलनामा नयाँ पुस्ताका शिक्षक राम्रा छन् तर मूल्याङ्कन प्रणालीमा सुधार नल्याउञ्जेल नतिजा र सिकाइमा सुधार हुने अवस्था रहँदैन।”

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले दुई वर्षअघि गरेको अध्ययनले कक्षा १० मा गणित र विज्ञान विषयमा छात्रको सिकाइ उपलब्धि छात्राको तुलनामा कमजोर देखाएको थियो। त्यस्तै विज्ञान, अङ्ग्रेजी र गणित विषयमा सामुदायिक विद्यालयका विद्यार्थीको तुलनामा संस्थागत विद्यालयका विद्यार्थीको सिकाइ उपलब्धि उच्च देखिएको सोही अध्ययनले देखाएको थियो।

दृष्टिविहीनका लागि सहज

दृष्टिविहीन विद्यार्थीले आफू अध्ययन गरेकै विद्यालयबाट एसईईमा सम्मिलित हुन पाउने भएका छन्। त्यस्ता विद्यार्थीलाई सहज होस् भनेर अध्ययन गरेकै विद्यालयलाई उपकेन्द्र कायम गरिएको छ।

परीक्षा नियन्त्रक श्रेष्ठले नयाँ परीक्षा केन्द्रमा जाँदा दृष्टिविहीन विद्यार्थीलाई त्यहाँको परिवेश बुझ्न समस्या हुने बताउँदै भन्नुभयो, “उनीहरूलाई आफ्नै विद्यालयबाट परीक्षामा सम्मिलित हुँदा सहज हुनेछ।” त्यस्ता परीक्षार्थी देशभर करिब ५० जना हुनसक्ने अनुमान गरिएको छ।

डेरा लिनु नपर्ने

एसईईमा प्राविधिक धारतर्फका परीक्षार्थीले अब डेरा लिनु नपर्ने भएको छ। विगतमा त्यस्ता विद्यार्थीका लागि जिल्ला सदरमुकाममा एउटा परीक्षा केन्द्र कायम गरिन्थ्यो र जिल्लाभरिका प्राविधिकतर्फका विद्यार्थी सदरमुकाममै आएर परीक्षा दिनुपथ्र्याे। यसले गर्दा विद्यार्थीले परीक्षा अवधिभर डेरा लिएर बस्नुपर्ने बाध्यता थियो।

परीक्षा नियन्त्रक श्रेष्ठले प्राविधिक धारका विषय अध्यापन गरिने विद्यालय नजिकका साधारणधारका विद्यालयलाई परीक्षा केन्द्र कायम गरिने र ती विद्यार्थीले घर नजिककै विद्यालयबाट परीक्षा दिन पाउने व्यवस्था गरिएको बताउनुभयो।