सन साइन बोर्डिङ स्कुलमा लागु औषध विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं, साउन १६- समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत चन्द्रागिरि नगरपालिका वडा नं. ५ गुर्जुधारास्थित सन साइन बोर्डिङ स्कुलमा लागु औषध विरुद्धको सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

प्रहरी प्रभाग बलम्बु र समता महिला समूह, बलम्बुको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मणिक महर्जनको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थी तथा शिक्षकहरूलाई लागु औषधको दुरुपयोग र यसले समाजमा पार्ने नकारात्मक प्रभावबारे सचेत गराउनु रहेको आयोजकले जनाएको छ।

दिउँसो १ बजेबाट सुरु भएको कार्यक्रममा समता महिला समूहका अध्यक्ष आशा महर्जन र प्रहरी प्रभागका प्रहरी सहायक निरीक्षक निर्मल राउतले लागु औषध नियन्त्रणमा समुदायको भूमिका र कानुनी पक्षबारे प्रकाश पारेका थिए। कार्यक्रममा सन साइन बोर्डिङ स्कुलका शिक्षक तथा विद्यार्थी गरी १०० भन्दा बढीको सहभागिता रहेको थियो।

समुदाय र प्रहरीको सहकार्यमा भएको यस्ता कार्यक्रमले समाजमा अपराध नियन्त्रण र सामाजिक सद्भाव कायम गर्न मद्दत पुग्ने विश्वास गरिएको छ। उक्त सचेतनामूलक कार्यक्रम दिउँसो ३ बजे शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो।