एकैदिन थपिए १५६, नेपालमा कोरोना संक्रमितको संख्या १०४२ पुग्यो

काठमाडौँ, जेठ १५ गते । पछिल्लो पटक देशका विभिन्न प्रयोगशालाहरूमा गरिएको स्वाब परीक्षणमा थप १५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १०४२ पुगेको जानकारी स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले दिनुभएको हो ।

देवकोटाका अनुसार बिहीबार दैलेख ८, कैलाली २, दार्चुला १, स्याङ्जा ३, नवलपुर १, धनुषा २९, महोत्तरी १७, सप्तरी १४, मकवानपुर १, बर्दिया ३, बाँके १, झापा २५, सर्लाही ७, सिरहा ६, रौतहट २०, दोलखा २, सोलुखुम्बु १, बझाङ १ र सुर्खेतमा १३ संक्रमित थपिएका हुन्।

योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १ हजार ४२ पुगेको छ। अहिलेसम्म ५ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् भने १८७ जना निको भएका छन्।