मास्क नलगाउनेलाई ‘ठाउँको ठाउँ’ सय रुपैयाँ जरिवाना

काठमाडौं, जेठ १० गते । मास्क नलगाई हिँड्नेलाई प्रहरीले ठाउँको ठाउँ एक सय रुपैयाँ जरिवाना गराउने भएको छ ।काठमाडौ जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशको पालना नगर्नेलाई उक्त सजाय हुन सक्ने बताएको हो ।

मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकै पिच्छे सय रुपैयाँ, बिना काम बाहिर निस्किए पटकै पिच्छे २ सय रुपैयाँ जरिवाना हुने बताइएको छ । अत्यावश्यक बाहेकका सवारी साधन चलाएमा दुई पांग्रे सवारी साधन भए पटकैपिच्छे २ हजार रुपैयाँ, अन्य सवारी साधन भए पटकैपिच्छे ५ हजार रुपैयाँ जरिवाना हुने प्रशासनले जनाएको छ ।

यसै गरि त्यस्ता सवारी साधनलाई सुरक्षाकर्मीले होल्ड गर्न सक्ने छन् । त्यस्तै अध्यादेश विपरीतको काम गर्ने संस्था वा व्यवसायलाई प्रमुख जिल्ला अधिकारीले छ महिनासम्मका लागि बन्द गर्न आदेश दिन सक्ने बताइएको छ।