सतुङ्गलस्थित सशस्त्र प्रहरी अस्पतालबाट कोरोना जितेर ११ जना डिस्चार्ज

काठमाडौं : सतुङ्गलस्थित सशस्त्र प्रहरी अस्पतालबाट शनिबार भक्तपुरका एकसँगै एकैपटक ११ जना कोरोना भाइरस संक्रमित डिस्चार्ज भएका छन् । भक्तपुरका तेस्रो संक्रमित भक्तपुर नपा-५ योसिंखेल निवासी ४२ काठमाडौं महानगरपालिकाका सफाइ गाडीका चालक हुन् । स्वास्थ्य मन्त्रालयले गएको जेठ ६ गते उनलाई कोरोना भाइरस संक्रमण भएको सार्वजनिक गरेको थियो ।

उनी डिस्चार्ज भएसँग भक्तपुरका चारैजना कोरोना भाइरसको संक्रमणलाई जितेर घर फर्किएका छन् । शनिबार उनीसँगै महानगरीय प्रहरी प्रभाग कालीमाटीका दुई प्रहरीमध्ये प्रहरी नायब निरीक्षक र प्रहरी जवान पनि डिस्चार्ज भएको अस्पतालका निर्देशक डीआईजी हरिचन्द्र अधिकारीले जानकारी दिए ।

उनका अनुसार शनिबार अस्पतालबाट भक्तपुर र ललितपुरका एकएक तथा काठमाडौंका ९ जना डिस्चार्ज भएका छन् । त्यस्तै काठमाडौंको चन्द्रागिरी नपा १० की सात वर्षीया बालकसमेत डिस्चार्ज भएको डीआइजी अधिकारीले बताए ।

‘अस्पतालको आइसोलेसनमा अझै दुईजना संक्रमित उपचाररत छन्’, उनले भने, ‘उहाँहरू पनि चाँडै डिस्चार्ज हुनुहुन्छ ।’ उनले अस्पतालमा २० वटा आइसीयू शैय्या र एक सय बीस शैय्याको आइसोलेसन वार्ड रहेको जानकारी दिए ।

यसअघि जेठ १५ गते भक्तपुरकी चौथो कोरोना भाइरस संक्रमित भक्तपुर नपा वडा नं ९ की ४२ वर्षीया महिला जनप्रतिनिधि पाटन अस्पतालबाट डिस्चार्ज भएकी थिइन् । त्यस्तै पहिलो र दोस्रो क्रमश आरोग्य प्रतिष्ठानकी २५ वर्षीया महिला कर्मचारी र सशस्त्र प्रहरीका २७ वर्षीय जवान डिस्चार्ज भएका थिए ।अन्नपुर्नपोस्त् बाट साभार