
काठमाडौं । भारतको प्रतिष्ठित आइफा अवार्डको २० औं संस्करण काठमाडौंमा आयोजना गर्ने र त्यसका लागि आर्थिक सहायता दिने निर्णय गरेपछि तातेको बहस करिब पूर्णविराम लागेको छ । चौतर्फी विरोधपछि सरकारले उक्त अवार्ड कार्यक्रम काठमाडौंमा नगर्ने निर्णय गरेसँगै सहि वा गलत भन्ने बहसको औचित्य सकिएको हो ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यसवर्षको आईफा अवार्ड कार्यक्रम काठमाडौंमा नहुने पुष्टि गर्दै भने, ‘यो वर्ष नहुने नै भयो, अब एक/दुई वर्षपछि पूर्वाधारमा हामी सक्षम भयौं भने पुन: आयोजनाको सम्भावना रहन्छ ।’
सरकारले असार ८ गते मन्त्रिपरिषद बैठकबाट भारतीय फिल्म अवार्ड आईफा नेपालमा आयोजना गर्ने निर्णय गरेको थियो । उक्त अवार्ड कार्यक्रमका लागि काठमाडौं महानगरपालिकाले ४४ करोड रुपैयाँ अनुदान दिने भनिएको थियो ।
त्यसपछि उक्त अवार्ड कार्यक्रममा नेपाली नागरिकले तिरेको करबाट अनुदान दिन नहुने भन्दै सामाजिक सञ्जाल र मिडियामा चर्को विरोध भएको थियो । तमाम् विरोधलाई (कु)तर्कले जस्टिफाई गर्ने मन्त्री स्तरीय सरकारी प्रयास असफल भएसँगै आइफा अवार्ड कार्यक्रम रोकिएको हो ।