काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा सडक विस्तारका लागि एक अर्ब २६ करोड रुपैंयाँ खर्चने भएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले चालु आर्थिक बर्षभित्रै एक अर्ब २६ करोड रुपैंयाँ खर्च गर्न लागेको हो । ‘हामीले गत बर्ष र यस बर्षको एक अर्ब २६ करोड रुपैंयाँ पैसा चाहियो भनेर सरकारलाई भनेका छौं’, काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाईकाजी तिवारीले भने ।
श्रोत सुनिश्चिता गरिएको भए पनि अर्थमन्त्रालयले पैसा नदिएकाले पछिल्लो समय सडक विस्तारको काम सुस्ताएको थियो । ‘सम्पन्न भएका कामको भुक्तानीका लागि पनि पैसा दिएको छैन र नयाँ कामका लागि पनि पैसा छैन्, अब पैसा आएपछि धमाधम सडक विस्तारको काम अघि बढाउँछौं’, तिवारीले विकासन्युजसँग भने ।
यसैबिच अर्थ सचिव शंकर कोइरालाले उपत्यका भित्रको सडक विस्तारका लागि पैसाको अभाव हुन नदिने बताए । ‘५० लाख जनसंख्या भएको काठमाडौंमा सडक विस्तारका लागि पैसाको अभाव हुन्न, श्रोत सुनिश्चिता भएको सबै पैसा दिन्छौं’, सचिव सुवेदीले भने ।
उपत्यका विकास प्राधिकरणका विकास आयुक्त तिवारीका अनुसार २०७४ कात्तिक १४ गते तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले ७५ करोड ५६ लाख ८८ हजार रुपैंयाँको श्रोत सुनिश्चिता गरेका थिए । त्यस्तै, कात्तिक ३० गते नै कार्कीले थप ४१ करोड २४ लाख १९ हजार ८ सय ५३ रुपैंयाँको श्रोत सुनिश्चिता गरिदिएका थिए । तर श्रोत सुनिश्चिता भएको पैसा समेत नपाएपछि प्राधिकरणले उपत्यकामा सडक विस्तारको काम द्रुतगतिमा अघि बढाउन पाएको थिए ।
प्रधानमन्त्री कार्यालयले उपत्यकामा सडक विस्तार र सवारी व्यवस्थापनका बारेमा छलफल गर्न बोलाएपछि प्राधिकरणले पैसा नभएको बताएको थियो भने अर्थसचिवले श्रोत सुनिश्चिता भएको रकम दिने बताएका थिए ।
यी हुन डोजर चल्ने सडक
प्राधिकरणले चावहिल जोरपाटी साँखु सडक, त्रिपुरेश्वर कलंकी कोटेश्वर सडक, सातदोबाटो धोलाहिटी सडक, सातदोबाटो लगनखेल सडक, भक्तपुर सुर्य बिनायक सडकको विस्तार कार्य तत्काल अघि बढाउने जनाएको छ । ती सडक खण्डमा अदालतको अवरोध नभएको र यस अघि भत्काउन बाँकी संरचनाहरु भत्काइनेछ । ‘स्थानीय बासिन्दाले नै हामीलाई पैसा चाहियो भनिरहेका छन्, हामीसँग पैसा नभएर नदिएका हौं’, तिवारीले भने ।
साभार : विकास न्युज
Leave a Reply
You must be logged in to post a comment.