एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा आवतजावत गर्न नदिने

467

सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि गर्दै आएको लकडाउनलाई थप कडाई गर्ने भएको छ । लकडाउनको पूर्णपालना नभएको निष्कर्ष निकाल्दै सरकारले कडाई गर्ने भएको हो ।

आज बसेको मन्त्रिपरिषद्को वैठकले लिएको निर्णयबारे जानकारी दिदै सूचना तथा सञ्चार प्रविधि मन्त्री समेत रहनु भएका अर्थमन्त्री डाक्टर युवराज खतिवडाले अब देखि एक प्रदेशदेखि अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा आवतजावत पनि कडीकडाउ गरिने बताउनु भयो ।

आवतजावत अब लगभग ठप्प नै पार्ने निर्णय सरकारले लिएको छ । लकडाउने पूर्णपालनका लागि सबै निकायको समन्वय आवश्यक भएको ठहर पनि मन्त्रिपरिषद्ले गरेको छ ।

लकडाउनकोबीचमा पनि संक्रमितको संख्या बढेको र अझै ठूलो संख्यामा आशंका गरिएका व्यक्तिहरुको परीक्षण बाँकी रहेकोले पनि लकडाउनलाई कडाई गर्ने तयारी सरकारले गरेको हो ।

लकडाउनको अवधि बढाउने विषयमा भने आजको मन्त्रिपरिषद् वैठकले कुनै निर्णय नलिएको पनि प्रवक्ता डा। खतिवडाले जानकारी गराउनु भयो ।

यसैगरी सरकारले कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरस (कोभिड–१९) को ¥यापिड टेष्ट गर्ने निर्णय समेत गरेको छ । यी तीन जिल्लामा कोरोना भाइरस संक्रमितहरु विदेशबाट आएकोले परीक्षण बढाउने निर्णय गरेको सरकारका प्रवक्ता खतिवडाले जानकारी दिनु भयो ।

यसैगरी चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई आवश्यक स्वास्थ्य सामग्री तत्काल उपलब्ध गराउने विषयमा पनि मन्त्रिपरिषद्ले बिभिन्न निर्णय लिएको जानकारी पनि प्रवक्ता खतिवडाले दिनुभयो ।साभार : न्युज २४