कलंकी-नागढुंगा सडकको ११ हजार भोल्टको करेण्टले रोक्यो कालोपत्रे

चन्द्रागिरि ।

राजधानीको सडक विस्तारमा सैयौं मुद्धा परेका छन भन्ने कुरा सबैलाई जानकारी नै छ ।  तर त्यहि सडकमा ११ हजार भोल्टको करेण्ट पनि बगिरहेको छ भन्ने कुरा थोरैलाई मात्रै थाहा होला । हो कलंकीबाट नागढुंगा तर्फ ४ सय मिटर अघि बढेपछि बाटो किनारमै ११ हजार भोल्ट करेण्ट प्रवाह हुने अण्डरग्राउण्ड तार भेटिन्छ । जसले सडक विस्तारलाई ठुलै अवरोध सृजना गरिरहेको छ ।

‘११ हजार भोल्टको करेण्ट प्रवाह हुने विद्युतको लाइन अण्डर ग्राउण्ड गरिएको छ, जसका कारण कलंकीदेखि ढुंगा अड्डाको ५ सय मिटर सडक कालोपत्रे गर्न पाईएको छैन’, काठमाडौं सडक विस्तार आयोजनाका प्रमुख दिपक केसीले भन्छन्, विकासन्यूजमा खबर छ ।

सो तारले ६ महिनादेखि सडक विस्तारमा अवरोध गरिरहेको छ । नेपाल विद्युत प्राधिकरणलाई पटक पटक आग्रह गर्दा पनि तार हटाउन ठोस पहल गरेको छैन् ।‘कलंकी चोकदेखि अगाडी ५ सय मिटरसम्म सडक पिच गर्न सकिन्थ्यो तर ६ महिनादेखि त्यहि तारले काम रोकेको छ, विद्युत प्राधिकरणलाई हटाउन आग्रह गर्दा आश्वासन मात्रै पाईरहेका छौं’, केसीले गुनासो पोखे ।

उता, प्राधिकरण बलम्बु केन्द्रका प्रमुख जनार्दन पराजुलीले भने तार हटाउने प्रक्रिया अघि बढेको बताए । ‘हामीले तार व्यवस्थापनका लागि पाइप बिछ्याउने काम भएको छ, अब माथीबाट तार टाँगेर विद्युत प्रसारण गराउँछौं र अण्डर ग्राउण्ड तारलाई निकाल्छौं’, पराजुलीले भने ।

त्यहाँ १.५ मिटर गहिराईमा ४० मिटरसम्म तार अण्डरग्राउण्ड गरिएको छ । अण्डर ग्राउण्ड तार हटाउने वित्तिकै सो ५ सय मिटर खण्डमा कालोपत्रे गर्ने तयारी सडक विस्तार आयोजनाले गरिरहेको छ ।

अन्यत्र भने अदालतमा मुद्धा परेकाले त्यसको छिनोफानो नहुञ्जेलसम्म सडक विस्तारको काम अघि बढाउन पाइने छैन् । सडक विस्तारका काम सुरु भएपछि सर्वोच्च अदालतले ३९ वटा स्टे अर्डर दिएको छ । सडक विस्तारका विरुद्ध अदालतमा परेका केहि मुद्धाहरुको पेसी भदौ २१ गतेका लागि तोकिएको छ ।

विद्युत प्राधिकरणले राजधानीको महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रका बिजुली तार भुमिगत गर्न लागेको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा बिजुलीको तार भुमिगत गर्न ग्लोबल टेण्डरको पनि आब्हान भएको छ ।