
काठमाडौं । सडक विभागले कलंकी-नागढुङगा सडक यथास्थितिमै पिच गर्ने तयारी थालेको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले सडक विस्तारमा अदालतको अवरोध तत्काल टुंगीने अवस्था नरहेकाले यथास्थितिमै कालोपत्रे गर्ने प्रक्रिया अघि बढाएको हो । ‘२५ प्रतिशत सडकमा अवरोध छ, नागरिकले धरै दुःख पाए, त्यसैले अहिलेकै अवस्थामा चैडाई घटाएरै भएपनि पिच गर्ने सोँच बनाएर फाइल माथी पठाएका छौं ।’, उपत्यका सडक विस्तार आयोजनाका सूचना अधिकारी विश्वविजय लाल श्रेष्ठले भने ।
उनले यथास्थितिमा पिच गर्ने सम्बन्धी प्रस्ताव १५ दिन अघि नै सडक विभाग मार्फत भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा पठाएको जानकारी दिए ।
कुल १२.५ किलोमिटर लम्बाईको सो सडक खण्ड विस्तार विरुद्ध दर्जनौं मुद्धा परेका छन् । अदालतले अन्तरिम आदेश दिएकाले तत्काल काम अगाडी बढाउने अवस्थामा पनि नरहेको र नागरिकलाई थप धुलो कष्ट दिन नहुने निष्कर्षसहित तत्काल पीच गर्ने सोँच अघि बढेको उनले बताए ।
हाल सो सडक खण्डमा साढे ६ किलोमिटर सडकमा वाल र फुटपाथ बनाउने काम सम्पन्न भैसकेको छ । फागुनदेखि जेठको अवधीमा सम्पुर्ण खण्ड कालो पत्रे गरिसक्ने योजना अनुसार काम अघि बढेको उनले बताए । ‘जाडो महिनामा पिच राम्रो हुन्न, जाडो अवधी गरि वाल र फुटपाथको काम सक्छौं अनि फागुनदेखि जेठभित्रमा कालोपत्रै गर्ने काम सम्पन्न गर्छाै’, आयोजनाका प्रमुख दिपक केसीले भने ।
हाल सो खण्डमा धुलो र खाल्डा खुल्डीको समस्या भने समाधान गरिसकेको पनि केसीले दावी गरे । ‘धुलो, हिलो र खाल्डा खुल्डीको समस्या समाधान गरिसकेका छौं, अब यथास्थितीमै पीच गरेर भएपनि समस्या समाधान गर्ने सोँचमा पुगेका हौं, पछि अदालतको आदेश आएपछि सोही अनुसार गरौँला’, केसीले भने ।