कलङ्कीमा आजदेखि ‘पिक एण्ड ड्रप’ व्यवस्था लागु

926

राेसन दानी,

कलङ्की चोकमा हुने सवारी जामलाई न्यूनीकरण गर्न आजदेखि ‘पिक एण्ड ड्रप’ व्यवस्था लागु गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले अत्याधिक जाम हुने चोकका रुपमा रहेको कलङ्कीमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरेको हो । ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरेसँगै अब उपत्यका बाहिर आवतजावत गर्ने सवारी साधन र उपत्यका भित्र चल्ने सवारी साधनले छुट्टाछुट्टै स्थानमा यात्रु चढाउने र ओराल्नुपर्ने भएको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले उपत्यकाको ट्राफिक व्यवस्थालाई चुस्त तथा दुरुस्त बनाउनका लागि उक्त व्यवस्था लागु गरेको जानकारी दिए । “पिक एण्ड ड्रप व्यवस्था लागूसँगै कलङ्की क्षेत्रमा हुने सवारी जाम कम हुने विश्वास हामीले लिएका छौँ,”–उनले भने ।

महाशाखाले यसअघि रत्नापार्क, पुरानो बसपार्क, आरएनएसी, जमल, लैनचौर, कोटेश्वरलगायत अत्याधिक जाम हुने क्षेत्रमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरेको थियो । महाशाखाले उपत्यकाको ट्राफिक सुधारका लागि तीन महिने कार्ययोजना बनाएर काम समेत शुरु गरिसकेको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको नेतृत्वमा चैत २१ देखि शुरु भएको तीन महिने कार्ययोजनाअन्तर्गत उपत्यकाका करिडोर निर्माण गर्ने, जेब्राक्रसिङ निर्माण गर्ने, आकाशे पुल निर्माण, सवारी साधन प्रदुषणमा चेकजाँचलगायत कामहरु ट्राफिक प्रहरीले गर्दै आएको छ ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीका प्रमुख प्रहरी निरीक्षक केशव भट्टले पिक एण्ड डप व्यवस्थाबाट कलंकी क्षेत्रको ट्राफिक व्यवस्था सुधार हुने बताए ।

यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाखभन्दा बढी सवारी साधन सञ्चालनमा रहेका छन् भने काठमाडौँ उपत्यकामा मात्र ११ लाखभन्दा बढी सवारी साधन सञ्चालनमा छन् ।