काठमाडौँ । नेपाली सिने जगतका हाँस्य कलाकार तथा निर्माता दिपकराज गिरीले करोडौँको लगानीमा फार्म हाउस खोल्ने भएका छन् । उनी कोरोना संक्रमणको त्रासका कारण स्क्रिप्ट लेख्दालेख्दै छोडेर फार्म–हाउस खोल्ने तयारी लागेका हुन् ।
चन्द्रागिरि नगरपालिका वडा न १ दहचोकमा रहेको पुख्र्यौली जग्गामा फार्म–हाउस खोल्ने योजना बनाइरहेको उनी बताउँछन् । “हजुरबाले जोडेको १० रोपनी जग्गा छ, त्यसबाहेक केही जग्गा म थप्दैछु,” दीपक भन्छन्, “फार्म हाउस निर्माणका लागि चारदेखि पाँच कारोड रुपैयाँ लगानी लाग्ने मैले प्रारम्भिक अनुमान गरेको छु ।”
‘छक्का पञ्जा’ सिरिजको सफलतापछि आर्थिक रुपमा बलियो भएका कलाकार तथा निर्माता दीपकराज गिरी नेपालमा फार्म हाउस खोल्ने पहिलो नेपाली कलाकार हुन् । छिमेकी मुलुक भारतमा कयौं कलाकारले करोडौंको लगानीमा फार्म हाउस खोलेका छन् । जस्तै, लकडाउनको समयमा सलमान खानले आफ्नो फार्म हाउसमा कृषिको काम गरेका तस्विरहरु निकै भाइरल भएका थिए ।
कोरोना भाइरसका कारण फिल्म निर्माण गर्ने अवस्था नभएका कारण आफूले वैकल्पिक पेशा अपनाएको दीपक बताउँछन् । फार्मले एउटा आकार लिएपछि नयाँ फिल्मको तयारीमा जुट्ने भन्दै फार्म हाउसमा सिर्जना हुने रोजगारीमा स्थानीयलाई विशेष प्राथमिकता दिने उनले बताएका छन् ।
Leave a Reply
You must be logged in to post a comment.