जेठ ९ गतेसम्म चन्द्रागिरि नगर सिल गर्ने निर्णय

2253

६ जेठ काठमाडौं ।चन्द्रागिरि नगरपालिकाले मंगलबार २०७७/२/७ बिहान ६ बजे (भोलि)देखि थप दुुई दिन नगर सिल गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको बैठकले भोलि बिहान ६ बजेदेखि जेठ ९ गते बिहान ५ बजेसम्म नगर सिल गर्ने निर्णय गरेको हाे ।

चन्द्रागिरि नगरपालिकाले कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै नगरपालिकाले जेष्ठ ३ गते १२ बजेदेखि जेठ ७ गते बिहान ६ बजेसम्म नगर सिल गर्ने निर्णय गरेको थियो । 

मेयर गिरीले भने, ‘कोही पनि अनाश्यकरूपमा हिँड्डुल गर्न पाउँदैनन्’, उनले भने, ‘ र औषधिबाहेक सम्पूर्ण व्यवसाय बन्द गर्ने निर्णय गरिएको छ।’

“चैत ११ गते देशभर बन्दाबन्दी भएदेखि विभिन्न जिल्लाबाट चन्द्रागिरि आएका एक हजार व्यक्तिको आरडिटी परीक्षण गर्न लागेका छौँ”, उनले भने ।

चन्द्रागिरि नगरपालिकाले विभिन्न जिल्लाबाट बन्दाबन्दीको समयमा चन्द्रागिरिमा आएका व्यक्तिको लगत सङ्कलन गरिरहेको छ ।

चन्द्रागिरीले सशस्त्र प्रहरी अस्पताल बलम्बुको सहकार्यमा दैनिक २५ देखि ३० जनाको पिसीआर र आरडिटी परिक्षण गर्दै आएको छ ।

पछिल्लो समय बन्दाबन्दी शुरु भएदेखि बारा, मकवानपुर, धादिङलगायत जिल्लाबाट चन्द्रागिरिमा आएका पाँच जनालाई कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो ।

चन्द्रागिरिले कोरोना भाइरसको जोखिमयुक्त क्षेत्रबाट आएका व्यक्तिलाई प्राथमिकतामा राखेर कोरोना परीक्षण गर्ने भएको छ ।

यस्तै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधीको समेत कोरोना परीक्षण गरिने नगरपालिकाले जनाएको छ ।

चन्द्रागिरिले विभिन्न जिल्लाबाट बन्दाबन्दीको समयमा चन्द्रागिरीमा आएका व्यक्तिको जानकारी नगरपालिकालाई दिन आग्रहसमेत गरेको छ ।