
काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २० वर्ष पूरा भएको छ ।
२०५८ जेठ १९ गते शुक्रबारसाँझ त्रिभुवन सदनमा राजपरिवारका सदस्यहरुको नियमित पारिवारिक जमघटमा व्यस्त थिए । सोही समयमा एक्कासी गोलिकाण्ड चल्दा नाराहीटी राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश हुनुको साथै राजपरिवारका १० जना सदस्यहरुको निधन भएको थियो ।
पारिवारिक जमघटका बेला तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्का र अन्य राजपरिवारका सदस्यहरूको गोली प्रहार गरी हत्या भएको थियो ।
नेपालको आधुनिक इतिहासमा राजपरिवारको वंशै नास हुने गरी कहालिलाग्दो रहस्यमय हत्याकाण्ड भएको २० वर्ष पुरा भइसक्दा समेत घटनाबारे सत्य तथ्य अझै बाहिर आउन सकेको छैन ।
युवराज दिपेन्द्रले परिवारका सदस्यहरुलाई गोली प्रहार गरेपछि आफैलाई गोली हानेको भनेर छानविन प्रतिवेदन सार्वजनिक गरिएपनि नेपाली नागरिकहरुले त्यसको विश्वास गरेका छैनन् ।
सरकारद्वारा गठित छानविन समितिहरुले दीपेन्द्रले केही समययता भएको पारिवारिक विवादका कारण बाबुआमा, भाई र बहिनीसमेतमाथि गोली चलाएको निष्कर्ष निकालेको थियो । त्यसपछि उनी स्वयंले आत्महत्या गरेको भनिएको छ ।
दरबार हत्याकाण्ड भएको चार वर्षमै देशमा गणतन्त्रको ढोका खुलेको थियो । त्यसपछि संविधानसभाको चुनाव भएर २०६५ साल जेठ १५ मा गणतन्त्र घोषणा भई २५० वर्ष लामो शाहवंशीय शासनको अन्त्य भएको थियो ।