
पाँचथरको मिक्लाजुङ गाउँपालिकामा दुई परिवारका ९ जनाको विभत्स हत्या भएको मिक्लाजुङमै एकजना युवाको झुण्डिएको अवस्थामा शव फेला परेको छ । मिक्लाजुङ–३ आरुबोटेमा दुई परिवारका ९ जनाको हत्या भएको हो भने मिक्लाजुङ–७ मा एक युवाको शव भेटिएको हो ।
युवकको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको हो । मिक्लाजुङ गाउँपालिकाकी उपाध्यक्ष उर्मिला राईका अनुसार रुखमा झुण्डिएको शव मानबहादुर माखिम रहेको छ । पाँचथर हत्याकाण्डमा भागेर ज्यान बचाएकी १२ वर्षीया सीता खाजुमले कपडाले मुख छोपेर आएका एक व्यक्तिले खुकुरी हानेर परिवारका सबै सदस्यको हत्या गरेको बयान दिएकी छिन् ।
प्रदेश नम्बर एक प्रहरी स्रोतका अनुसार बिहानपख सम्पर्कमा आएकी सीताले खाना खाएर सुतिसकेपछि आएका एक व्यक्तिले खुकुरी हानेर पालैपालो ज्यान लिएको बयान दिएकी छिन् । ‘परिवारका सदस्यमाथि खुकुरी प्रहार भएपछि म कसैले थाहा नपाउने गरी भागें’, उनले प्रहरीसमक्ष भनेकी छिन् । स्थानीयको सम्पर्कमा बिहान आएकी सीतालाई प्रहरीले आफूसँगै राखेको छ। उनी अहिले जिल्ला प्रहरी कार्यालयमा छिन्।