
काठमाडौं। हेटौंडाबाट काठमाडौं आउँदै गर्दा नागढुंगामा रोकेर आफूमाथि दुर्व्यवहार गर्ने युवकविरुद्ध वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीले आज किटानी जाहेरी दिएका छन्।
उनीमाथि दुर्व्यवहार गर्ने उत्तम कार्की युवकलाई हिजो प्रहरीले पक्राउ गरेको थियो। गत शुक्रबार डाक्टर कार्कीमाथि नागढुंगामा उत्तम कार्कीलगायतले उनको झोला चेकजाँच गरेका थिए। उत्तम कार्कीले फेसबुकमा समेत लाइभ गरेर पोष्ट गरेका थिए। यो घटनाको चौतर्फी विरोध भएको थियो।
प्रयोगशालाका निर्देशक कार्कीले आफूमाथि दुर्व्यवहार हुँदा त्यहाँ खटेको प्रहरी मुकदर्शक बनेको बताएका छन्। तर काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले घटनामा प्रहरीको कुनै संलग्नता नदेखिएको बताएका छन्।