
काठमाडौँ – काठमाडौँ भित्रिने मुख्य नाका नागढुंगामा स्वास्थ्यकर्मीको खानतलासी लिने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
गैरकानुनी रुपमा स्वास्थ्यकर्मीको खानतलासी गरेको आरोपमा काठमाडौँ चन्द्रागिरिका उत्तम कार्कीलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो। कार्कीविरूद्ध अभद्र व्यवहारको मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ।
आफूलाई स्वयंसेवाक बताउने कार्कीले शुक्रबार उक्त नाकाबाट काठमाडौं उपत्यका प्रवेश गर्न खोजेका प्रदेश-३ का जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीको गाडीलाई रोकेर सोधपुछ गरेका थिए ।
आफ्नो परिचयपत्र देखाए पनि चन्द्रगिरिका उत्तम कार्कीलगायतले निर्देशक कार्कीको झोलासमेत खानतलासी गरेका थिए । उनले खिचेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो भने विरोधसमेत भएको थियो ।
निर्देशक कार्कीमाथि दुर्व्यवहार गर्ने उत्तम कार्कीले सामाजिक सञ्जालमा ,शुक्रबार काठमाडौं छिर्ने नाकामा स्वस्थ्यकर्मीको झोला हेर्न खोज्नु मेरो गल्ती हो, उनले आफ्नो फेसबुकमा लेखेका छन्, म स्वीकार गर्छु। त्यसैले त्यस घटनाप्रति म क्षमाप्रार्थी छु।’ लेख्दै माफी मागेका छन् ।