नागढुंगा नाकामा सिडिओ कार्यालयबाट जारी पास भएका सवारी पनि रोकिन थालियो

काठमाडौं, २२ बैशाख । प्रहरीले काठमाडौँ उपत्यका भित्रिने नाकाहरुमा थप कडाइ गरेको छ । लकडाउनलाई थप कडाइ गर्न प्रधानमन्त्री केपी ओलीले गृहमन्त्रीलाई निर्देशन दिएपछि प्रहरीले उपत्यका भित्रिने नाकामा थप कडाइ गरेको हो ।

नाकामा खटिएका सुरक्षाकर्मीलाई अत्यावश्यक सवारीलाई मात्र छिर्न दिने निर्देशन दिइएको छ । जिल्ला प्रशासन कार्यालयबाट जारी भएको पास लिएर पनि मानिस काठमाडौं छिर्ने गरेका थिए ।

तर, अहिले अत्यावश्यक सवारीलाई पनि चेक गरेर प्रवेश गराउने गरिएको छ । अनावश्यक रुपमा सडकमा निस्किने, प्रहरीको आग्रह नमान्ने तथा तोकिएका बाहेकका पसलहरु सञ्चालन गर्ने व्यक्ति तथा सवारी साधनलाई आज बिहानै विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको छ ।

लकडाउनमा कार्यान्वयनमा कडाइ गर्न मुख्य सडकदेखि भित्रि सडकहरुसम्म बाक्लो रुपमा प्रहरी परिचालन गरिएको छ । त्यस्तै वैशाख २५ गतेपछि लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा समेत छलफल भइरहेको छ ।

तीन जोनमा विभाजन गरेर लकडाउनमा परिवर्तन गर्न तयारी भएको छ । त्यसैले सुरक्षित जोन मानिएको स्थानलाई कसरी कभर गर्ने विषयमा समेत छलफल जारी छ ।

उपत्यका भित्रिने नाकालाई व्यवस्थित गर्न सुरक्षा निकायले तयारी गरिरहेको छ ।